Logo

निगम कार्यकारी अध्यक्ष मदन खरेललाई राजीनामा दिन मन्त्रीको अल्टिमेटम



काठमाडौं, ७ मंसिर । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।

भट्टराई निकट स्रोतका अनुसार खरेललाई आउँदो हप्ताभित्र राजीनामा दिन अल्टिमेटम दिइएको छ । उनले राजीनामा नदिए बर्खास्त गर्ने तयारी भएको छ । निगम संचालनमा खरेल असफल भएको भन्दै भट्टराईले कार्यक्षमतामाथि प्रश्न उठाउँदै आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारे जानकारी गराएपछि ओली समेत सहमत भएको बुझिएको छ ।

निगम सुधारका लागि आवश्यक कदम चाल्न भट्टराईको निर्देशन खरेलले मान्न छाडेका थिए । उनले आफ्नो सिधा सम्पर्क प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको भन्दै उतै कुरा गर्ने बताउने गर्थे । राजीनामा दिन भन्दा पनि खरेलले प्रधानमन्त्री ओलीसँग कुरा गर्छु भनेका थिए । तर, प्रधानमन्त्री ओलीले खरेललाई पत्याउन छाडेको बुझिएको छ ।

खरेलले हवाई माफियाको इशारामा निगमलाई चुर्लुम्म डुबाउने रणनीति लिएको पत्ता लागेको छ । निगम संकटमा रहेको देखाएर विदेशी कम्पनि साझेदारी भित्राउने र कमिशन लिने दाउमा हवाई माफिया सक्रिय भएका थिए । उनीहरुले खरेललाई आफ्नो स्वार्थमा चलाइरहेका थिए । यसको भित्री रहस्य मन्त्री भट्टराईले पत्ता लगाएपछि स्थिति बर्खास्त गर्ने सम्म पुगेको हो ।

विदेशस्थित निगमको टिकट एजेन्ट नियुक्त गर्दा मोटो कमिशन लिएको विषय पनि मन्त्री भट्टराईले पत्ता लगाएका थिए । यसबाहेक पुरानो विमान विक्री गर्ने योजना देखि नयाँ विमान खरिदको पहलमा समेत शुरुमै अनियमितताको तयारी भेटिएको थियो ।

खरेल विवादमा मुछिएपनि आफ्नो घर झापा भएकाले उतै गृहजिल्ला भएका प्रधानमन्त्री ओलीको साथ रहेको बताउँदै आएका थिए । उनले आफूलाई कसैले हल्लाउन नसक्ने दाबी गरेपनि आउँदो हप्ताभित्र राजीनामा नदिए बर्खास्त हुने अवस्था बनेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot