ललितपुर, ८ मंसिर । ‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।
फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै नगर्ने जनचेतना र परिपाटीको विकास नभएसम्म बागमती सफा हुन नसक्ने अनुभवी बताउँछन् । कलकल पानीमा पौडी खेल्ने राजधानीवासीको सपना साकार हुन बागमतीमा फालिएको फोहोर सफा गरेर होइन, फोहोरै नगरेर सम्भव हुने अभियान्ताको मत छ ।
जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइ झनै जटिल हुँदै गएको छ । “सफाइ अभियान सुरु भएदेखियता कुपण्डोलको थापाथली पुल क्षेत्रमा जति पटक सफाइ गर्न जाँदा पनि फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोराहरू भेटिन्छन्,” पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले आफ्नो अनुभव सुनाउँदै भने, “यो क्षेत्रमा १० पटकभन्दा बढी सफाइ भइसक्यो तर फोहोरको पोका र बोरा भेटिने क्रम रोकिएको छैन ।”
बागमती सरसफाइ अभियानको ३४१औँ हप्तामा थापाथली पुल क्षेत्रमा बागमती सफा गर्दै भेटिएका पूर्वसचिव थापाले यो क्षेत्रमा दुर्गन्ध पनि कम नभएको अनुभव सुनाए। आमनागरिकमा चेतनाको विकास, घर, टोलछिमेकमा नै फोहोरको व्यवस्थापन तथा यससँग सम्बन्धित कानुनको निर्मम कार्यान्वयन नगरेसम्म बागमती लगायतका नदी खोलाहरूको सरसफाइ अभियानले मूर्तरूप लिन नसक्ने उनको भनाइ छ ।
गाडी र मोटरसाइकल चढेर आउनेहरूले पुलबाट बागमतीमा फोहोरका पोका फाल्ने गरेको घटना अत्यधिक भेटिएको उनले बताए। विसं २०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बागमती सरसफाइ अभियान सुरु भएको थियो । मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले पशुपतिको गुह्येश्वरीबाट बागमती सरसफाइ अभियानको शुभारम्भ गरेका थिए । सो अभियानबाट अहिलेसम्म आठ हजार पाँच सय मेट्रिक टन फोहोर सङ्कलन भई सोको व्यवस्थापन भइसकेको सो अभियानले जनाएको छ । बागमती सरसफाइका अर्का अभियन्ता डा। राजु अधिकारीले यस अभियानले नदी खोलामा फोहोरका पोका र बोरा फाल्ने क्रम केही कम भए पनि अझै यसको अन्त्य हुन नसकेको बताए । काठमाडौँको गुह्येश्वरीदेखि ललितपुरको सुन्दरीघाटसम्मका अधिकांश ठाउँमा अहिलेसम्म अनेक पटक सफाइ भए पनि रातिराति फोहोर फाल्ने रोग भने निको हुन सकेको छैन ।
सेफ्टीट्याङ्की घरभित्र नै बनाउनुपर्ने गरी घरको नक्सा पास गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव उनको छ । ललितपुरको ज्वागलस्थित बन्दै गरेको ‘फोहोरको डम्पिङ साइड’नजिकै रहेको सुकुमबासी बस्तीका कारण थापाथली पुल क्षेत्रमा फोहोर पटकपटक सफा गरिए पनि कम हुन नसकेको उनको अनुभव छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदी, खोलानालालगायत अन्य सार्वजनिक स्थलको सरसफाइ स्थानीय तहबाट नै होस् भन्ने उद्देश्यसहित ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, २०७५’ निर्माण गरी सोको कार्यान्वयनका लागि ७५३ वटा स्थानीय तहलाई पठाइसकेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गठन गरी बागमतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।
बागमतीको पानी शुद्धीकरण गर्न विकास समितिको तर्फबाट अहिले तीन ठाउँमा पानी प्रशोधन निर्माण कार्य अगाडि बढाइएको जानकारी समितिका अध्यक्ष नरेन्द्र बस्नेतले दिए । बागमतीलाई पहिलेकै अवस्थामा फर्काउनका लागि विभिन्न ठाउँमा तार जाली जडान गर्ने विषयमा समेत छलफल अगाडि बढाइएको छ ।
गोरखापत्र दैनिकबाट