Logo

नेपालको नक्शा सार्वजनिक गर्न सरकारलाई कांग्रेसको अल्टिमेटम



काँस्की, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न माग गरेका हुन् ।

सोमबार नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताए । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उनको भनाइ थियो ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर काँग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उनले बताए ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भन्नुभयो, “यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।” file photo/RCN



प्रतिक्रिया दिनुहोस्