Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, ५ दिनमा पूर्ण स्वस्थ हुने चिकित्सकहरुको दाबी (भिडियोसहित)



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि अस्पतालको भेन्टिलेटरमा राखिएका प्रधानमन्त्रीको स्वास्थ्यमा आज बिहानदेखि सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

आज राति प्राइम टाईम्स टेलिजिनबाट प्रशारण भएको जनता चान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीका स्वास्थ्य सल्लाहकारसमेत रहेका चिकित्सक डा. अरुण सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले स्वास्थ्यमा सुधार आएको बताएका हुन् । शाहका अनुसार ओलीलाई आज हल्का हिडाईएको पनि थियो ।

उपचारमा संलग्न डा. सायमीले भने,”उहाँ हिजो अस्पताल आउनुभयो । आएर शल्यक्रिया भयो । आजदेखि स्वास्थ्य स्टेबल छ । भेन्टिलेटरमा राखियो भन्ने कुरामा बाहिर गलत हल्ला भयो । यो कुनै सिरियश कुरा होइन् । भेन्टिलेटर भन्नेबित्तिकै जनताले अन्तिम अवस्थामा राख्ने सोच्छन् । तर, हरेक विरामीलाई बेहोस गरेर शल्यक्रिया गर्दा भेन्टिलेटरमा राख्ने गरिन्छ । आज मेरो कुरा भयो । अहिलेपनि भर्खरै कुरा गरेर बाहिर आएको छु । उहाँले म ठीक छु भन्नुभयो । उहाँ अहिले बसेर मज्जाले आराम गर्नुभएको छ। लिक्वुड डाईट सुरु भयो । मिडियामा गलत प्रचार भयो भनेर उहाँलाई हिँडाएर बाहिर ल्याउने तयारी छ । शल्यक्रियापछि प्रेसर बढाउने औषधी पनि हटाईयो । दाल, सुप खाईरहनुभएको छ। आज चाहीँ कालो चियाबाट सुरु भयो ।”

उनले प्रधानमन्त्री ओलीले अहिलेसम्म चिकित्सकको टीम छोडेर अन्य चिकित्सकलाई पनि नभेटेको जिकिर गरे । उनले उपचारमा आफू लगायत चार, पाँच जनाको टिम रहेको सुनाए । उनले भने,”म संयोजक छु । डा. दिव्या हुनुहुन्छ । ग्यास्टोको दुई जना । बेहोस गर्ने चिकित्सक । सबै गरेर पाँच जना छौं ।”

उनले प्रधानमन्त्रीको परिवारको सदस्यलाई पनि भेट्न नदिएको जनाए । उनले भने,”उहाँको श्रीमतीले पनि भेट्न पाउनुभएको छैन । शीर्ष नेताले पनि भेट्न पाउनुभएको छैन् । राजनीतिक विषयमा कुरा गरेको छैन् ।”

उनले आफूले प्रधानमन्त्रीलाई आराम गर्नको लागि पटक पटक आग्रह गरेको सुनाए । उनले भने,”मैले त पोहोर साल पनि यही टाईममा विरामी हुनुभएको थियो भनेर सचेत गराएँ । अहिले पनि डिस्चार्ज गर्ने हो भने उहाँ सागको लागि रंगशाला, पोखरा जान्छु होला । एक हप्ता बढि राख्छौं भनेको छु । तर, ठ्याक्कै कति दिन भन्न सकिँदैन् । तीन चार दिन चाहीँ राखिन्छ ।”

उनले प्रधानमन्त्री मिर्गौलाको विरामी भएकोले शल्यक्रियापछि संक्रमण हुने खतरातर्फ आफूहरु सचेत रहेको बताए । उनले भने,”मिगौला प्रत्यारोपण गरेका विरामीलाई संक्रमण हुने सम्भावना छ । मैले भारतका हालै दिवंगत भएका अरुण जेट्ली र सुष्मा स्वराजको उदाहरण दिएको छु । ईन्फेक्शनबाट बच्न भनेको छु ।”

उनले हिजो शल्यक्रिया नगरेको भए जे पनि हुन्थ्यो भन्दै समयमै उपचार भएको सुनाए । उनले भने,”उहाँको आकस्मिक शल्यक्रिया हो । अहिले खतरामुक्त हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्थाबारे हामीले त हरेक दिन, विहान, साँझ प्रेस वक्तव्य दिईरहेका छौं । अहिले पनि प्रधानमन्त्रीले हामीभन्दा दोब्बर काम गरिरहनुभएको छ । मैले त बालुवाटार र सिंहदरबारमा मात्रै केन्द्रित हुन भनेको छु । तर, उहाँ सक्रिय भएर काम गरिरहनुभएको छ।”

डा. शाहले पनि प्रधानमन्त्रीको पछिल्लो समय स्वास्थ्य निकै सुधार भएको स्पष्ट पारिन् । उनले भनिन्,”अहिले प्रेसर नियन्त्रणमा छ । मुखबाट झोल पदार्थ खाईरहनुभएको छ। आज अलि अलि हिँडाईयो । गतिशिलता भयो । चार पाँच दिनमा ठीक हुनुपर्छ । भोलिबाट सेमि सोलिड खानुहुन्छ ।”

उनले हिजो अस्पताल भर्ना हुनुभन्दा अघिल्लो दिन स्वास्थ्य राम्रै रहेको बताईन् । उनले भनिन्,”अस्पताल ल्याएको अघिल्लो दिन उहाँले ईन्टरभ्यु दिनुभयो । चार घण्टा बैठक थियो । क्याबिनेटको बैठक थियो । भोलिपल्ट विहान म बालुवाटार पुग्दा साधारण पेट दुखाई भन्नुभएको थियो । मलाई ठीक लागेन । तुरुन्तै हामी आईहाल्यौं । शल्यक्रियापछि रक्तसञ्चार नियन्त्रण गर्न भेन्टिलेटरमा राख्यौं ।”

प्रधानमन्त्रीको यही शल्यक्रियाले समस्या देखिने सम्भावना नभएको उनको विश्वास छ । उनले भनिन्,”यो आफैंमा ठूलो शल्यक्रिया होइैन् । भविष्यमा थप जटिलता आउने सम्भावना न्यून छ ।” उनले अहिलेसम्मको प्रमको स्वास्थ्य अवस्था स्थिर रहेको स्प्ष्ट पारिन् । उनले भनिन्,”आज विहान कुराकानी भयो । आज पोष्ट अफ पहिलो दिन हो । कालो चियाबाट सुरु गर्नुभयो । प्रमले कुनैपनि शीर्ष नेताहरुलाई भेट्नुभएको छैन् । संक्रमण होला भनेर भेटवार्ता रोकेका हौं । ५, ७ दिनमा फर्काउन सक्छौं । अब पहिलेजस्तै सक्रिय भएर काम गर्नसक्नुहुन्छ वा हुँदैन भन्ने कुरा त प्रममा भर पर्छ । भौतिक धपेडी एक महिनाजति नगर्दा हुन्छ ।”

मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका प्राध्यापक डा. अनिल भट्टराईले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो र स्थिर रहेको बताए । उनले भने,”मैले बुझेअनुसार उहाँको स्वास्थ्यमा खासै समस्या छैन् । सुधार भैरहेको छ । यसको बारेमा टिमबाट अफिसियल्ली बुलेटिन आउँछ । म आधिकारिक होईन् । शल्यक्रियापछि पूर्ण रुपमा स्वस्थ भएर काम गर्न सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो (मंगलबार) आकस्मिक शल्यक्रिया गरिएको थियो । उनलाई बिहान भेन्टिलेटरबाट हटाइएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहको जानकारी दिए।

प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ। स्वास्थ्यमा सुधार आएपछि बिहान प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनलाई भेटेकी थिइन्। स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार अस्पताल पुगेका छन्।



प्रतिक्रिया दिनुहोस्