Logo

भागबण्डाको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् : डा. भट्टराई



शरद रेग्मी : दाङ, १२ मंसिर । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । उनले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस भन्दै आयोगलाई सुझाव दिए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार समेलनमा भट्टराईले देश गरिबी र बेरोजगारको दुष्चक्रमा रहेको बताउदै दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको पनि आरोप लगाए ।

देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नाराबाहेक देखिनेगरी अर्थतन्त्रको पाटोमा सरकारले कुनै परिवर्तन ल्याउन नसकेको उनको टिप्पणी छ । उनले योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिनेगरी न त रोजगार सिर्जना गर्नसक्यो , न त लगानी प्रर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो । न त देखिनेगरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्टराई भने ।



प्रतिक्रिया दिनुहोस्