Logo

“प्रधानमन्त्रीज्यूले मुस्कुराउँदै भन्नुभयो- ‘अन्तिम स्टेजमा लेखिदिएछन् नि”



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्योपचारमा संलग्न टिमको संयोजक हुन् डा. अरुण सायमी । नेपालका धेरै राजनीतिज्ञको उपचार गरेको अनुभव सँगालेका उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति के छ ?
यहाँ मिडियाकै कुरा भइरहेको थियो । अस्ति उहाँ एपेन्डिसाइटिस भएर यहाँ आउनुभयो । त्यसपछि उहाँको अप्रेसन भयो । अब आजदेखि उहाँको स्वास्थ्य स्थिर अवस्थामा छ । अब भेन्टिलेरटरको कुरा छ, त्यसमा मलाई प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, ‘मलाई मिडियाले के के लेखेको छ ?’ नभन्दै एउटा पत्रिकामा त प्रधानमन्त्री भेन्टिलेटरमा भनेर लेखिएको रहेछ । जनताले त भेन्टिलेटरमा भनेपछि अन्तिम अवस्था राख्ने हो भनेर सोचका हुन्छन् । तर, यो गलत भयो, किन भने हरेक बिरामीलाई बेहोस पारेर अप्रेसन गर्ने बेलामा भेन्टिलेटरमै राखेर गरिन्छ । उहाँलाई पनि त्यसैगरी भेन्टिलेटरमा राखेको हो । त्यो भेन्टिलेटर निकालिसकियो ।
पत्रिकाले त्यस्तो लेखेको देखेपछि तपाईंंलाई प्रधानमन्त्रीले के भन्नुभयो ?
उहाँले ‘अब म मिडियामा गएर मेरो स्वास्थ्य अवस्थाबारे क्लियर गरिदिन्छु भन्नुभयो । अझ उहाँले त भर्खरै मसँग हाँसेर ‘म त ठीक छु पत्रिकाले त भेन्टिलेटरमा अन्तिम स्टेजमा भनेर लेखिदिएछन्’ भन्नु्भयो । त्यस्तो अवस्था होइन ।
यतिखेर प्रधानमन्त्री के गर्दै हुनुहुन्छ ?
यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली आनन्दसँग बस्नुभएको छ । उहाँलाई आजदेखि लिकुइट डाइट सुरु गरिएको छ । उहाँ आधा घण्टा मेचमा बस्नुभयो । भर्खरै यहाँका डाक्टरसाबले ‘यो मिडियाले धेरै हल्लाको रंग दियो, भोलि चाहीं प्रधानमन्त्रीज्यूलाई हिंडाएरै बाहिर लैजाऊ कि’ भन्नुभएको छ । उहाँको अवस्था सबै ठीक छ । अप्रेसनपछि प्रेसर बढाउने औषधि पनि बन्द गरिसकिएको छ । भेन्टिलेटर पनि छैन अहिले ।
अहिले के के खाइरहनुभएको छ ?
सुरुमा ब्ल्याक टी खुवाइयो । त्यसपछि दाल, सुप, पानी लगायतका खानाहरु दिइएको छ ।
भेटवार्ता को को सँग गरिरहनुभएको छ ?
उहाँको भेटवार्तामा त हाम्रो टिम छ । त्यो बाहेक अरु डाक्टरलाई पनि भेट्न दिइएको छैन ।
प्रधानमन्त्रीको उपचारमा कति जनाको टिम छ ?
त्यो टिममा म संयोजक छु । डा. विद्या सिंह हुनुहुन्छ । सर्जरी गर्ने डाक्टरसाब दुईजना, ग्यास्ट्रोको दुईजना डाक्टरसाब हुनुहुन्छ । त्यसपछि क्रिटिकल केयरको टोली छ । सबै गरी ७-८ जना डाक्टरहरु त्यो टिममा संलग्न हुनुहुन्छ ।
परिवारको सदस्यले पनि भेट्न पाउनुभएको छैन ?
परिवारको सदस्य त के उहाँको श्रीमतीले पनि भेट्न पाउनुभएको छैन । उहाँको श्रीमतीलाई माथि आईसीयुको बाहिरपट्टिको कोठामा राखेका छौं ।
उपचारमा संलग्न डाक्टरबाहेक कसैले भेट्न पाउनुभएको छन ?
कसैलाई पनि भेट्न दिइएको छैन ।
प्रधानमन्त्रीले तपाईंसँग राजनीतिक विषयमा पनि कुरा गर्नुभयो ?
राजनीतिक बारेमा त केही कुरा भएन । उहाँ पोहोर पनि यही समयमा यहाँ आउनुभएको थियो । मैले त्यो बेलामा पनि भनेको थिएँ, ‘तपाईंले अलिकति रेष्ट लिनुपर्यो’ भनेर । त्यसो भएको हुँदा मैले जोक्स गरेर भनेँ, ‘तपाईंलाई हामीले यहाँबाट छोडिदियौं भने फेरि पोखराको चुनावमा गएर भाषण दिन थाल्ने, कतै उद्घाटनमा गएर रिबन काट्न थाल्ने गर्नुहुन्छ होला । त्यसैले तपाईंलाई हामी दुई-दिन मात्रै होइन । अझै एक हप्ता बढी राख्छौं । किन कि तपाईंलाई रेष्ट गराउनको लागि भनेका छौं ।
त्यसोभए प्रधानमन्त्री अझै एक हप्ता उपचारको लागि अस्पतालमै बस्नुहुन्छ हो ?
फेरि त्यसरी ठ्याक्कै त भन्न सकिँदैन । तर, योभन्दा बाहेक तीन-चार दिन मिनिमम् पनि बस्नुहुन्छ ।
जसरी प्रधानमन्त्रीको सल्यक्रिया भयो, यसपछि संक्रमण हुन्छ भन्ने धेरैको अड्कल छ, के हुन्छ ?
अब मृर्गौला प्रत्यारोपण गरेको बिरामीलाई अप्रेसन गरिएको छ । त्यसमा धेरै सावधानीहरु अपनाउन जरुरी छ । त्यसैले उहाँलाई मैले धेरै पहिलादेखि भनिरहेको छु, ‘तपाईं दुईवटा चिजबाट बँच्नुहोस्’ भनेर । त्यसको लागि मैले उदाहरणै दिएर भनेको छु, ‘इण्डियामा दुईजना मृर्गौला प्रत्यारोपण गर्ने भूतपूर्व मन्त्रीहरु एकजना इन्फेक्सन भएर बित्नुभयो, अर्को सुष्मा स्वराज हाट याट्याक भएर बित्नुभयो । त्यसैले प्रधानमन्त्रीको हामी हार्ट चाहिंं हामीले ठिक पारिरहेका छौं । अर्को इन्फेक्सनबाट बँच्नुपर्छ भनिरहेका छौं । त्यही इन्फेक्सनबाट बचाउन नै कसैलाई पनि भेट्न नदिएको छ ।
मृर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई शल्यक्रिया गर्दा धेरै समस्या आउँछ भनिन्छ नि ?
त्यो ठीक हो । धेरै समस्या आउन सक्छ । तर, हिजोको त इमर्जेन्सी अप्रेसन हो नि उहाँको । हिजो अप्रेसन नगरेको भए त जे पनि हुन सक्थ्यो नि । उहाँको इमर्जेन्सी अप्रेसन गर्नुपर्ने भएरै हामीले केही रिक्स लिएरै गरेका हौं ।
प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त हुनुहुन्छ हो ?
लगभग उहाँ खतरामुक्त हुनुहुन्छ । मैंले तपाईंलाई अगिनै भनिसकेको छु । उहाँले खाना खाइरहनुभएको छ । कुरा गरिरहनुभएको छ । अझ ‘मिडियाले मेरो बारेमा के के भनिरहेको छ’, भनेर सोधिराख्नुभएको छ । यो सबैलाई हेर्दा अहिलेको लागि त उहाँ खतरामुक्तै हुनुहुन्छ ।
बाहिर त तपार्इंले भनेजस्तो होइन, रोग लुकाउनुभयो भन्नेहरु छन् नि ?
हामीले हरेक बिहान, बेलाका प्रेस रिलिजहरु निकालिरहेका छौं । आज बिहान पनि प्रेस रिलिज निकालिसकेका छौं । अनि के लुकाएका छौं ? तपाईं अझै भन्नुस् त ?
त्यसोभए प्रधानमन्त्रीलाई केही समस्या छैन ?
किन छैन, समस्या छ नि । समस्या भएरै एन्टिसाइटको अप्रेसन भयो ।
प्रधानन्त्रीले अब एक्टिभली काम गर्न सक्नुहुन्छ ?
उहाँले गर्नुभएको छैन ? अरुको भन्दा डबल गर्नुभएको छ । यहाँ आउनुभन्दा एकदिन अगाडि कति काम गर्नुभएको थियो ? हामीले त नगर्नु भनिरहेका छौं । मैले अझ प्रधानमन्त्रीलाई ‘तपाईं बालुवाटार र सिंहदरबारमा मात्रै केन्द्रित हुनु’ भनेको छु । तर, उहाँ चाहीं हामीभन्दा बढी एक्टिभ भएर काम गरिरहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot