Logo

ओलीको काम प्रचण्डले जनतासामू लैजाने



काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै देशव्यापी रुपमा आफूलाई सक्रिय बनाउने तयारी थालेका छन् । पछिल्लो समय नेकपामा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बढि ध्यान दिने र सोहीअनुसार अर्को निर्वाचन नभएसम्म सरकारको नेतृत्व गर्ने, र अर्का अध्यक्ष दाहालले पार्टीको काममा आफूलाई केन्द्रित गर्ने सहमति भएको छ । योसँगै अध्यक्ष दाहाल उत्साहित भएका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पार्टीका उम्मेद्धवारको चुनावी प्रचारप्रसारमा पनि दाहालले नै चुनावी सभालाई सम्बोधन गरेका थिए ।

हिजो मंसिर ११ गते बुधबार अध्यक्ष दाहालले काँस्की, धरान र भक्तपुरका महत्वपूर्ण चुनावी सभालाई सम्बोधन गरेका थिए । अहिले अध्यक्ष तथा प्रधानमन्त्री ओली एपेन्डिसाईटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन् । ओलीलाई भेट्न अध्यक्ष दाहाल दुई पटक अस्पताल पुगेका छन् । तर, संक्रमणको डरले चिकित्सकहरुले कसैलाई पनि अहिलेसम्म भेट्न दिएका छैनन् । ओली नियमित काममा फर्किनको लागि केही साता अझै लाग्न सक्ने चिकित्सकहरुको भनाई छ ।

प्रधानमन्त्री ओलीले हालै मन्त्रिमण्डल पूनर्गठन गरेका छन् । मन्त्री नभएकाहरुलाई मन्त्री बनाईएको र मन्त्री भएकाहरुलाई पार्टीको काममा खटाउनको लागि आफूले मन्त्रिपरिषद पूनर्गठन गरेको ओलीले स्पष्ट पारेका छन् । नेकपामा अब पार्टीलाई सक्रिय बनाउनेगरि शीर्ष नेताहरुबीच सहमति भएको छ । पार्टी र सरकारले गरेका राम्रा कामहरु जनतासामू नपुगेको अध्यक्षद्धय ओली र दाहालको गुनासो छ । सोहीअनुसार अब सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी छ ।

पार्टी एकताको काम करिब करिब सकिएकाले अब जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले राससकर्मी रमेश लम्साललाई जानकारी गराएका छन् । विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पु¥याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।

राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्