Logo

स्थायी, केन्द्रिय समिति र सचिवालय बैठक बोलाउनेगरि प्रचण्डको तयारी



काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका महत्वपूर्ण बैठकहरु डाक्ने तयारी थालेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच पछिल्ले समय भएको सहमतिअनुसार ओलीले सरकारमा केन्द्रित हुने र दाहालले पार्टीमा केन्द्रित हुने सहमति छ ।

पूर्व माओवादी पक्षले नेकपाको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको निश्कर्ष निकालेका छन् । दाहालपनि उत्साहित बनेका छन् ।भोलि हुने उपनिर्वाचनको लागि देशव्यापी रुपमा उनले नै चुनावी प्रचारप्रसारको नेतृत्व गरेका थिए ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली अहिले एपेन्डिसाईटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्थामा राम्रो र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । ओली खतरामुक्त रहेको पनि चिकित्सकहरुले स्पष्ट पारेका छन् ।

चिकित्सकको सल्लाहअनुसार ओलीले केही साता अझै आराम गर्नुपर्नेछ । यो बीचमा पार्टीलाई अनिर्णयको बन्दी नबनाउने अर्का अध्यक्ष दाहालको तयारी छ । पार्टीलाई चलायमान बनाउने र सशक्त रुपमा लैजाने गरि दाहालले छिट्टै स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउने भएका हुन् ।

त्यतिमात्रै होईन, सचिवालय बैठकसमेत डाक्ने दाहालको तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थालाई मध्यजर गरेर आवश्यक परे सचिवालय बैठक समेत बोलाउने अध्यक्ष दाहालको तयारी छ । उहाँले सोहीअनुसार सचिवालयका अन्य सदस्यहरुसँग परामर्श गरिरहनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्