काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सम्पन्न भएको उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । निर्वाचन सम्पन्न भएलगत्तै आज शनिबार साँझ काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएको हो ।
कांग्रेसले आज सम्पन्न भएको उपनिर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छ,‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्व सरकारको हो । नेपाली काँग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो । तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ।’