काठमाडौं, मंसिर १६ । १३औं सागअन्तर्गत पोखरामा आयोजना हुने ट्रायथलनको प्रतिस्पर्धा आजदेखि सुरु हुने भएको छ। आज इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारू तथा महिलामा सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र पाँच किलोमिटर दौड पूरा गर्नुपर्नेछ। प्रतिस्पर्धाका लागि खेलाडीहरूको दर्ता, साइकल तथा पोसाक परीक्षण गरिएको छ। यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरूलाई टेक्निकल डेलिगेटले प्रतियोगिता र खेलस्थलका बारेमा जानकारी दिएका छन्।
फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। खेलाडीहरूका लागि तालमा एकैसाथ डाइभ गर्न मिल्ने प्लटुन प्रयोग गरिएको छ। यो पहिलो पटक प्रयोगमा ल्याइएको हो। दुई स्वर्ण पदकको छिनोफानो पनि आजै हुन गैरहेको छ ।