Logo

आज जयबागेश्वरीमा अनौठो नाच



काठमाडौँ, १९ मंसिर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच बिहीबार साँझ काठमाडौँको जयबागेश्वरीमा प्रदर्शनका लागि आउँदैछ । अलि असजिलो जस्तो लागे पनि नवदुर्गा नाचमा अचम्मै हुन्छ । सबैसामु जिउँदो सुँगुरको कोखा काटिन्छ अनि तन्तनी आलो रगत पिउने गरिन्छ । नवदुर्गा नाचको यो विशेषता हो । त्यसका लागि पशुपति क्षेत्र विकास कोषले ३० किलो सुँगुरको व्यवस्था नै गरिसकेको छ ।

नवदुर्गा नाचमा महाकाली देवता हुनुहुने नारायणप्रसाद वनमालाका अनुसार यसरी सुँगुरको आलो रगत पिउने क्षमता देवताले राख्छ, रगत पिउने कार्य नाचका भैरवबाट हुन्छ । सुँगुर मात्रले नाच सकिँदैन । जयवागेश्वरीमा एकरात नाच रहन्छ । त्यसरी नाच रहँदा सबै घरबाट सगुन दिइन्छ । यसरी दिइने सगुन स्वरूपको उसिनेको अण्डा र तारेको सिद्रा हुन्छ । सँगसँगै चिउरा र रक्सीसमेत भोजनमा प्रयोग हुन्छ । नाचमा १९ जना सहभागी हुन्छन् । सबैलाई देवता भनिन्छ । एक देवताले कम्तीमा ५० वटासम्म उसिनेको अण्डा, प्रत्येक घरबाट दिइने घरेलु रक्सी र सिद्रा चिउरा खाने क्षमता राख्छन्, यो अचम्मलाग्दो छ । देवताको यो क्षमता अवलोकन गर्न पनि मानिस जयबागेश्वरीमा यो रात ओइरिन्छन् । जयबागेश्वरी निवासी वैद्यराज सुवर्ण वैद्य यसलाई देवताको शक्ति मान्नुहुन्छ । यतिधेरै पकापक खाँदा पनि देवताहरूले पेट दुखाएको वा यो रात कतै शौच गरेको पनि पाइन्न । कथाअनुसार शुम्भनिशुम्भ राक्षसलाई वध गरेपछि अष्टमातृका हिमालयतिर लागे, बीचमा तान्त्रिक पुजारीले अष्टमातृकालाई भक्तपुरको नालामा रोके । भोकाएका देवीले नरभक्षण गर्न थालेपछि रोकिएको हो । सँुगुरको भोग खाइरहेको देखिएपछि यहीँ सुँगुरको भोग दिने गरी भक्तपुरको हाल गछेँमा अष्टमातृकासहित देवी प्रतिष्ठापन गरिएको हो भन्ने किंवदन्ती छ ।

जयबागेश्वरीमा आउँदैछौँ भनी नौ दिनअघि नवदुर्गा पीठबाट सूचना दिइएपछि यो नाच बिहीबार जयबागेश्वरी आउने भएको हो । सरकारी पूजाका रूपमा अमालकोट कचहरी कार्यालयले एउटा कालो सुँगुरसहित यी देवतालाई जयबागेश्वरी डबलीमा पूजा सत्कार गर्दैछ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot