काठमाडौं, २७ मंसिर । संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकले सरकारलाई महत्वपूर्ण सुझाव तथा निर्देशन दिएको छ । समितिले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापनी र सुस्ता लगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदउढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा अविलम्ब वार्ता गरी समाधान गर्न सुझाव दिएको छ ।
नेपाली भूमीमा रहेको भारतीय सुरक्षा फौजपनि अविलम्ब फिर्ता गर्नको लागि भारतसँग कुरा गर्न सरकारलाई समितिको निर्देशन छ । उक्त बैठकमा सीमा सम्बन्धि विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाइएको थियो । छलफलका क्रममा सांसदहरुले भारतले नेपाली भूमि समेत समेटेर आफ्नो देशको नक्सा सार्वजनिक गरेको तर नेपाली पक्षले आफ्नो भूमि रक्षाका लागि उपयुक्त पहल गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले भारतले नेपाली भूमिसमेत समेटेर नक्शा निकाल्दा नेपालले आफ्नो भूमि रक्षाका लागि उपयुक्त पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । छलफलमा सत्तारुढ दलकै सांसद भीम रावल, अग्नि सापकोटा, विपक्षी दलका सांसद प्रकाशमान सिंहलगायतले आफुसँग भएका प्रमाणका आधारमा नेपाली भूमि समेटेर नयाँ नक्शा निकाल्न केले छेकेको हो भन्दै प्रश्न गरेका थिए ।
समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले भने आफ्नो भूमि फिर्ता लिन अनुकूल वातावरण भएको र सरकारले पहल गरिरहेको जवाफ दिएका थिए । नेपालले सीमा नजिक सशस्त्र प्रहरी बलसम्म पनि राख्न नसकेको स्वीकारे ।
कांग्रेस सांसद प्रकाशमान सिंहले राष्ट्रको सार्वभौमसत्ता रक्षाका लागि सरकारलाई विपक्षको पूर्ण साथ रहेको भन्दै दुई तिहाईको बलियो सरकार किन अलमलिइरहेको छ भन्ने प्रश्न गरे । उनले फलाम तातेको बेला पिट्नुपर्छ भनेजस्तै अहिले विषय उठेका बेला समाधान गर्नुपर्ने र विषयलाई अन्तर्राष्ट्रियकरण पनि गरिनुपर्ने बताए ।
नेकपाका सांसद भीम रावलले नेपालको हस्तक्षेप गरिएको भूभाग राखेर नयाँ नक्शा बनाउन के ले छेकेको हो भन्ने प्रश्न गर्दै सिमावर्ती आफ्नो भूभागमा सुरक्षाकर्मीसम्म पनि नराखिएकामा आश्चर्य व्यक्त गरे ।
छलफलमा उपस्थित भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्शा जारी गर्ने पहल भइरहेको जानकारी दिइन् । भारतले नयाँ नक्शा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनको भनाइ छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम