Logo

पौडेल समूहको निश्कर्ष, १४ औं महाधिवेशन आगामी मंसिरभित्रै गर्नुपर्ने



काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सम्पन्न भएको छ । पौडेल निवास बोहोराटारमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशन आगामी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकमा सहभागी केन्द्रिय सदस्य चन्द्र भण्डारीले दिएको जानकारीअनुसार महाधिवेशन कार्यकालिका सार्वजनिक गर्नुपर्ने आफूहरुको पहिलो शर्त रहेको छ ।

उनले भने,‘महाधिवेशनको कार्यतालिका पहिले सार्वजनिक गर्नुपर्छ । आउने मंसिरसम्म गर्नेगरि तालिका ल्याउनुपर्छ ।’ त्यस्तै, उनले पार्टीभित्र विभिन्न विभाग गठन गर्नुपरेपनि विधानले तोकेबमोजिम २८ भन्दा बढि विभाग गठन गर्न नदिने आफूहरुको निश्कर्ष रहेको भण्डारीले सुनाए । उनले भने,‘हामीले विभाग गठनको सन्दर्भमा यदि गर्ने हो भने विधानअनुसार गर्नुपर्छ भनेर अडान लिएका छौं । त्यही हुन्छ ।’

त्यस्तै, पौडेल समूहले भातृ संगठन नेपाल विद्यार्थी संघको हकमा पनि ३२ वर्ष उमेर हद राखेर तदर्थ समिति गठन गर्नुपर्ने माग गरेको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई कारबावही गर्न नहुने उनीहरुको निश्कर्ष छ । उनले भने,‘तरुण दलको पनि म्याद सकिउको छ, अहिलेको कार्यसमितिलाई विघटन गरेर नयाँ तदर्थ समिति बनाएर जाने पनि छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्