Logo

ओली एक्ल्याउने दाहाल-नेपालको योजना



काठमाडौं, ३ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक काठमाडौंमा जारी छ । लगभगर दुई दर्जन सदस्यहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पमकल दाहालको नयाँ राजनीतिक प्रतिवेदनमा आ–आफ्नो धारणा राखिरहेका छन् । अधिकांश सदस्यहरुले नेतृत्वको बचाउ गरेका छन् भने केही सदस्यहरुले मात्रै आलोचना गरेका छन् ।

स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद, सरकारको कामकारबाही र विदेश सम्बन्धको बारेमा समेत चर्चा तथा परिचर्चा भएको छ । कतिसम्म भने अमेरिकी सहयोग एमएमसीको बारेमा समेत चर्को विरोध भएको छ । सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग र एशिया प्यासिफिक स्ट्राटेजी फरक कुरा भएकोले एमएमसी सहयोग लिने अडान लिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि यसप्रति सकारात्मक संकेत गरेका छन् ।

उता, बरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर अध्यक्ष दाहालले केन्द्रिय कमिटी बैठकमा ओलीलाई अल्पमतमा पार्नेगरि होमवर्कसमेत गरेको खुलासा भएको छ । यसको लागि उनले नेता नेपालसँग पछिल्लो समय लगातार छलफल तथा वार्ता गरिरहेका छन् । नेता नेपाल ओलीसँग रुष्ट छन् । मन्त्रिमण्डल पूनर्गठनदेखि विभिन्न नियुक्तीमा आफूलाई पेलिएको उनको गुनासो छ । यही मौकामा अर्का अध्यक्ष दाहालसँग भित्री–एकता गरेर उनले ओलीलाई एक्ल्याउने रणनीति बुनेका छन् ।

पार्टीमा दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि ओलीको अनुपस्थितिमा सचिवालयको दुई पटकसम्म बैठक राखिसकेका छन् । यता, स्थायी कमिटीको बैठकको अध्यक्षतापनि उनले नै गर्दै आएका छन् । पार्टीलाई सशक्त बनाएर लैजानको लागि कसैको पनि मुख नताक्न नेता नेपालले दाहाललाई सुझाव दिएका छन् ।

आगामी एकता महाधिवेशन २०७७ को फागुनभित्रै सम्पन्न गर्नुपर्नेगरि प्रतिवेदनमा लेखिएको छ । विस्तारै ओलीमाथि प्रेसर सिर्जना गर्ने नेताद्धय दाहाल र नेपालको योजना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot