Logo

नेकपा स्थायी कमिटी बैठक : बहुमत सदस्यद्वारा सरकारको आलोचना, रिमाल बचाउमा



काठमाडौं, ४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा सरकारको आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो पोखेका थिए ।

बरिष्ठ नेता माधव कुमार नेपाल समूहका अधिकांश सदस्यहरुले सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र ढिलासुस्ती भएको आरोप लगाएका हुन् । तर, बैठकमा सहभागी ओली पक्षधर सदस्यहरु ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्न खोजेका थिए । तर, उनीहरुको बचाउलाई नेता नेपाल पक्षधरले ठाडै प्रतिकार गरेका थिए ।

नेकपानिकट स्रोतकाअनुसार अधिकांश सदस्यहरुले सरकारको विरोधमा मोर्चाबन्दी गरेका छन् । एक नेताले भने,‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले बचाउ गर्नुभयो तर, उहाँको बचाउमा पनि अरु सदस्यहरुले प्रतिकार गर्नुभयो ।’ बैठकमा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालपनि सरकारको बचाउमा उत्रिएका छन् ।

स्थायी समितिमा ओली पक्षका मन्त्रीमा पोखरेल र ज्ञवालीमात्रै छन् । मन्त्रीसमेत रहको अरु सदस्यहरु वर्षमान पुन र लेखराज भट्ट पनि सरकारको बचाउमा लागेनन् । ती नेताले भने,‘पोखरेल र ज्ञवालीबाहेकका मन्त्रीहरुले पनि सरकारको बचाउ गर्न सकेनन् ।’

सरकारको सबैभन्दा बढि आलोचना गर्ने सदस्यहरुमा भीम रावल, बेदुराम भुषाल र देव प्रसाद गुरुङ छन् । सरकारको आलोचना गर्नेको संख्या बहुमत छ । अध्यक्षद्धय ओली र पुष्पकमल दाहालको प्रतिवेदनमा आफ्नो धारणा राख्ने क्रम जारी छ । अर्को बैठक भोलि विहान बस्ने भएको छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्