काठमाडौं, ५ पुस । फिलिपिन्समा सम्पन्न सातौं कराँतेडो गोजु–काई एसिफिक च्याम्पियनसीप, २०१९ मा रजत पदक प्राप्त गर्ने खेलाडी सञ्जय तामाङ र अनुरती कार्कीलाई सम्मान गरिएको छ ।
नेपाल गोजु–काई कराते–डो संघद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले खेलाडीद्वयलाई सम्मानपत्र प्रदान गर्नुभयो । उक्त च्याम्पियनसीपमा तामाङले २१ वर्ष माथिको ८४ केजी मुनीको तौलतर्फ कुमिते तथा कार्कीले १३ वर्ष उमेर समूहको ४२ केजी मुनीको तौलतर्फ कुमिते प्रतिस्पर्धामा रजत पदक प्राप्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा १५ जना खेलाडीलाई ब्ल्याक बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि तिमिल्सिनाले आईकेजीएबाट प्राप्त निदान प्रमाणपत्र १ जना र शोदान प्रमाणपत्र १४ जनालाई प्रदान गर्नुभयो ।
उपाध्यक्ष तिमिल्सिनाले आउँदो दिनमा खेलेर खेलाडीले मात्र नभइ परिवारको पनि आर्थिक अवस्था सुधार्नका लागि दीर्घकालीन योजना आउन लागेको बताउनुभयो । उहाँले नेपाल खेलकुदमा उदाउँदैछ भन्ने साफ खेलले प्रमाणित गरेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।