काठमाडौँ, ७ पुस । साढे चार वर्षअघि भूकम्पले सुन्धारास्थित धरहरा ध्वस्त बनायो । अहिले उक्त ठाउँमा नयाँ संरचना निर्माण भइरहेको छ । छेउमै ठूला उपकरण चलाउँदा धरहराको फेद ठुटोमा क्षति हुन थालेको छ ।
यहाँ चल्ने डोजर, एक्स्काभेटरलगायत उपकरणको कम्पनले भाँच्चिएको धरहराको फेद ठाउँ–ठाउँमा चर्किंदै गएको छ । फुसफुस माटो समेत झर्दै गएको देखिन्छ । बनाउने क्रममा धरहराको जग जोगाइएको छैन । पेटीसमेत खनिएका छन् । प्रबलीकरण रेट्रोफिट पछि काँचको फ्रेममा राखेर मात्रै नयाँ बनाउने योजना कार्यान्वयन नगर्दा ऐतिहासिक धरोहरमा थप क्षति पुग्न सक्ने चिन्ता संरक्षणकर्मीको छ । ‘कुनै दिन सबै ढल्न सक्छ,’ सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘यसको संरक्षण पहिला गर्नुपर्ने हो, तर यतातिर ध्यान दिइएन ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले भने नयाँ धरहराको बेसको काम सकिएपछि पुरानोलाई व्यवस्थित गर्ने बताए । ‘हामीले पहिला नै गर्नुपर्थ्यो । त्यस बेला गर्न सकिएन,’ उनले भने, ‘पुरानो धरहरालाई छोप्ने काम हुन्छ । यो सुरक्षित नै रहन्छ ।’ २२ तलाको बन्ने नयाँ धरहराका लागि तीन तलाको निर्माण सकिएको छ । हरेक १५ दिनमा एक तला ढलान गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
धरहराको वरिपरि सिँढी थिए । ९ वटा सिँढी चढेर मात्र धरहराको प्रवेशद्वार छिर्न सकिन्थ्यो । तीमध्ये पश्चिमतिरका सिँढी काटेर त्यही ठाउँबाट उपाकु मार्ग सञ्चालन गरिएको थियो । मृतकका परिवार इन्द्रजात्राको बेला यही ठाउँ भएर उपाकु संस्कारमा सहभागी हुन्छन् । ‘यो बाटो अहिले मासिएको छ,’ श्रेष्ठ भन्छन्, ‘स्थानीयवासीले विरोध गरेपछि खनिएकै ठाउँमा हतारहतार अस्थायी पुल बनाएर उपाकु मार्ग सञ्चालन गरियो ।’ शिलान्यासका दिनबाटै यहाँका तीनवटा मार्ग बन्द छन् । यी सबै सांस्कृतिक मार्ग भएको स्थानीय गीता शिख्राले बताइन् । ‘शव लैजाने मार्ग यही हो,’ उनले भनिन्, ‘यी सबै बन्द गरिएको छ ।’ शव लाने बाटो छेक्नु सर्वोच्च अदालतको फैसलाविपरीत भएको संरक्षणकर्मी श्रेष्ठले बताए । ‘धरहरा क्षेत्रको कुनै पनि संस्कृति नचलाउनु भनेर गएको रिट निवेदनमा सर्वोच्चले नजिर स्थापित गरेको छ,’ उनले भने, ‘यो नजिरलाई समेत वास्ता गरिएन ।’
कान्तिपुर दैनिकबाट