काठमाडौं, १५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री दिपक खड्का विकासवादी नेताको रुपमा परिचित छन् । खड्काले सुरुदेखि नै मुलुकको समृद्धि र विकास कसरी हाँसिल गर्न सकिन्छ भनेर दत्तचित्त भएर लागिपर्ने नेताको छवि बनाएका छन् । उनको विकासप्रतिको लगाव र सोहीअनुसारको भूमिका देखेर होला देशका पहिलो पुस्ताका प्रायः सबै दलका राष्टिय नेताहरुले मन पराएका छन् । खड्काले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि आफ्नो तर्फबाटपनि योगदान पुर्याउँदै आएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता खड्काले छोटो अवधिमा पनि जनताको मन जित्ने काम गरेका थिए । मेलम्चीको खानेपानी जतिसक्दो चाँडो ल्याउनेगरि कामको थालनी गरेका खड्काको पालामा मेलम्ची आयोजनाले गति लिएको थियो । उनी आफैं फिल्डमा खटिईन्थे । कांग्रेसमा खड्का ‘एक्शन-ओरियन्टेड लिडर’ को रुपमा परिचित छन् । उनी कुनैपनि काममा ढिलासुस्ती भएको देख्न सक्दैनन् । उनको पार्टी यतिवेला प्रतिपक्षमा छ । तरपनि उनले विकास र समृद्धि हाँसिल गर्ने कुरामा सरकारलाई साथ दिनुपर्ने बताउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” नारालाई सार्थक तुल्याउन सबैले आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आएका छन् ।
सोहीअनुसार खड्काले वैदेशिक लगानीपनि स्वदेशमा आकर्षित गरिरहेका छन् । आजमात्रै खड्काको नेतृत्वमा रहेको जलविद्युत कम्पनीले रसुवा गोसाँईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेसी रुङगामा १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ९० प्रतिशत विदेशी लगानी रहेको उक्त आयोजनामा नेपाली दिपक खड्काको १० प्रतिशत लगानी रहेको छ । चिनियाँ कम्पनी सिचुवान हुवानी ईनर्जी ईनभेष्टमेन्ट कोअपरेशन प्रा.ली.को ९० प्रतिशत लगानी रहेको छ ।
आगामी ३ वर्षभित्र आयोजनाको काम सम्पन्न गरिसक्ने विश्वास लिईएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत चिलिमे हबमा जोडिने छ ।२० अर्ब ३८ करोड ९८ लाख ९४ हजार लगानी रहने उक्त आयोजनाले देशको उर्जा विकासमा ठूलो टेवा पुर्याउने विश्वास लिईएको छ । नेता खड्काले १२ वर्षअघिदेखि देखेको सपना आज आएर साकार भएको छ ।
शिलान्यास कार्यक्रमपछि संक्षिप्त सम्बोधन गर्दै नेता खड्काले आफ्नो १२ वर्षदेखिको अथक प्रयासले आज सार्थकता पाएको सुनाए । उनले भने,‘देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनको लागि मैले उर्जाको विकासमा हात हाल्ने योजना बुनेको थिएँ । हिजोको हाम्रा दिनहरु कहालीलाग्दा थिए, दैनिक १८ घण्टासम्म हामीले लोडसेडिङ भोगेका थियौं । त्यो अवस्था देखेर मैले उर्जामा लगानी गर्नुपर्छ भन्ने सोच राखेको थिएँ ।’
व्यक्तिगत रुपमा देशमा सबैभन्दा बढि वैदेशिक लगानी भित्र्याउने श्रेयपनि खड्कालाई नै जान्छ । उनले चर्चामा रुचाउने नेता होईनन् । यत्रो ठूलो मात्रामा वैदेशिक लगानी ल्याउँदापनि उनले कतै हल्लाखल्ला गरेनन् । बरु, आयोजनाको शिलान्यास नै गरेर देखाए । अहिले जलविद्युत क्षेत्रमा काम गर्नेहरुले खड्काको यो कदमको खुलेर प्रशंसा गर्न थालेका छन् । मुलुक उर्जामा आत्मनिर्भर बन्ने दिशातर्फ अघि बढिरहेको बेलामा खड्काले व्यक्तिगत पहलको आधारमा २० अर्बको वैदेशिक लगानी भित्र्याउनु आफैंमा देशको लागि पनि गौरवको विषय हो ।
सहीलाई सही र गलतलाई गलत भन्ने नेता
मुलुकमा धेरै वर्षपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने अवसर मिलेकोमा उनले सरकारले देश र जनताको हितमा काम गर्नुपर्ने बताउँदै आएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता खड्काले वर्तमान सरकारले गर्ने हरेक राम्रा काममा कांग्रेसको साथ र नराम्रा काममा खबरदारी रहने बताउँदै आएका छन् । कतिसम्म भने राजनीतिक स्थायित्वलाई बचाउनको लागि उनले सरकारको नेतृत्व पनि परिवर्तन गर्न नहुने आफ्नो व्यक्तिगत धारणा राखेका थिए । खड्काको भनाई हेर्दा सामान्य लागेपनि सारमा उनको अभिव्यक्ति विकास र समृद्धिसँग जोडिएका थिए ।
उनले नेकपाभित्रैबाट सरकारको नेतृत्व परिवर्तनको चर्चा चल्दा होसा वा मन्त्रीहरु हेरफेरको विषयमा पनि आफ्नो तर्फबाट त्यस्तो नगर्न सुझाव दिएका थिए । क्लबको साक्षात्कारमा नेता खड्काले भनेका थिए,“अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।” खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाइँ गर्न नहुने धारणा राखेका थिए । उनले अघि भनेका थिए, “यदि यो पाँच वर्ष हेलचेक्र्याइँ गरियो भने मुलुक २५ वर्ष पछि पर्छ । यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।”
खड्का मुलुक र जनताप्रति साँच्चिकै गम्भिर र जिम्मेवार छन् भन्ने कुरा प्रतिपक्षी दलको नेताको हैसियतामा सरकारप्रतिको माथि उल्लेखित टिप्पणीबाटै प्रष्ट हुन्छ । उनले ओली सरकार स्थायी भएकोले सरकारलाई आर्थिक समृद्धिको बाटोमा अघि बढ्नको लागि आवश्यक सबै सहयोग र समर्थन आफ्नो पार्टीको तर्फबाट गर्न आफूहरु तयार रहेको पनि बताएका छन् । तर, सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप रहँदै आएको छ ।
खासगरी विकासको बाद्यकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणको लागि सरकारले ठोस काम गर्न नसकेको खड्काको गुनासो छ । उनले अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्ने बताउँदै आएका छन् । उनले भने, “मुलुक बनाउने जिम्मेवार ओहोदामा बस्नेहरु झनै जिम्मेवार बन्नुपर्छ ।”
क्लबकै साक्षात्कारमा उनले भनेका थिए, “अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ । पाँच वर्ष प्रधानमन्त्री र मन्त्रीहरु हटाउनु हुँदैन ।” सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रपतिको विलाषी जीवनको खुलेर विरोध
कतिसम्म भने नेता खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाषी जीवनको बारेमा पनि सार्वजनिक रुपमै विरोध तथा आलोचना गरेका छन् । उनले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नठानेको बताउँदै तर के को लागि किन्न लागिएको भन्ने कुरा स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । उनले भनेका थिए, नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले अन्य आवश्यकीय बस्तुजस्तै गाडीको व्यवस्था पनि गर्नुपर्छ । तर, यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको उल्लेख गर्दै राष्ट्रपतिजस्तो सम्मानित व्यक्ति पार्टीको जसरी प्रस्तुत हुन नहुने खड्काको भनाई रहँदै आएको छ । दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्यपनि अस्वभाविक रहेको प्रसंग उल्लेख गर्दै उनले यस्ता विषय पदमा बस्नेले जान्नुपर्ने विषय रहेको टिप्पणी गरेका थिए ।
राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हासिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको रहेको नेता खड्काको भनाई थियो । मुलुक राजतन्त्रलाई फालेर राष्ट्रपतीय शासन व्यवस्थामा रहेको अवस्थामा व्यवस्थाको जगेर्ना गर्ने सवैको दायित्व रहेको स्पष्ट पार्दै उनले तर पदमा बसेका मान्छेले पनि यस्ता बिषयको ख्याल गर्नुपर्ने बताएका छन् ।
सरकारको तानाशाह कदमको विरोध
नेता खड्का निडर छन् । उनले सरकारका हरेक गलत कामको खुलेर विरोध गर्दै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले सरकारले तानाशाह जन्माउन खोजेको भन्दै आफूहरु चुप लागेर नवस्ने चेतावनी दिएका थिए। पार्टी कार्यालयमा प्रहरी प्रयोग गरेर सरकारले आक्रमण गरेको भन्दै उनले सरकारी रबैया सहन नसक्ने बताए । ‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं ।’ उनले सरकारले सबै गरिहाल्छौं भनेर सपना मात्रै बाँडेर प्रचारमा मात्रै उत्रिएको बताए ।
भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड
नेता खड्काले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा जोड दिँदै आएका छन् । सार्वजनिक कार्यक्रमहरुमा उनले भन्दै आएका छन्, ‘हामीसँग अहिले कसैसँग बढी र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ ।’
हिन्दूराज्य र राजतन्त्रबारे खरो टिप्पणी
खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने बताउँदै आएका छन् । खड्काले यसो भन्दा देशमा तरंग पैदा भएको थियो । उनले भन्ने गरेका छन्,‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्यान्वयन गर्ने विषयलाई नेपाली कांग्रेसले जहिल्यैपनि सरकारलाई सहयोग गर्छ र गरिरहन्छ भन्ने कुरा हाम्रो उद्धघोष हो । आज पनि नेपाली कांग्रेस त्यो उद्धघोषभन्दा पछाडि छैन् ।’