Logo

मन्त्रीपरिषद्को निर्णय सर्वजनिक : प्रवक्ता बास्कोटाको निशानामा गगन थापा



पुष १७, काठमाण्डौ । सरकारले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको ११० रोपनी वनक्षेत्रको जग्गा गुठीका नाममा कायम गर्ने निर्णय बदर गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले २ वर्षअघि देउवा सरकारले गरेको निर्णय बदर गरेको हो ।

देउवा सरकारले २०७४ पुस २८ गते माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना सञ्चालन गर्न ३५ वर्षका लिागि दिइएको ८० हेक्टर जग्गामध्ये ११० रोपनी जग्गा स्वयम्भू पूरानो घ्याङ गुठीको नाममा दर्ता कायम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार २०७४ चैत ३० गते गुठीको नाममा दर्ता कायम भएको थियो । सरकारले वन ऐन २०७६ बमोजिम सो जग्गा दर्ता स्वतः बदर हुने भएकाले सो दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

२०७० साउन २४ गतेको मन्त्रिपरिषद बैठकले नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिलाई माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९ दशमलव २७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिएको थियो ।

मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको जानकारी दिएका छन् ।

चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको हो । उक्त खण्डको सडकको चौडाइ ३१–३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको बाँस्कोटाले जानकारी दिएका हुन् ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४० अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो । सरकारले एक स्वास्थ्य रणनीति, २०७६ पनि स्वीकृत गरेको बाँस्कोटाले जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रीसमेत रहेका बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । मन्त्री बास्कोटाले तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका हुन् ।

३६ वटा बुँदा संशोधन गरिएको भन्दै बास्कोटाले मनलाग्दी प्रचार गरेर भ्रम सृजना गरेको जिकिर गरे । यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी र्पयो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको उनले जानकारी दिए ।

कानून विपरीत भए मात्रै कारबाही गरिने भन्ने कुरा सबैले बुझ्नुपर्ने बास्कोटाको भनाई छ । स्वतन्त्रता छ भन्दैमा जे पनि लेख्ने, झुटो प्रचार गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने जस्ता कामलाई झुट दिन नहुने बास्कोटाको भनाई थियो ।

बास्कोटाले कांग्रेस नेता गगन थापाको नाम नलिई ‘तथ्य लुकाएर भ्रम फैलाएको’ आरोप लगाए । सूचना प्रविधि विधेयकका सन्दर्भमा गगन थापाले जारी गरेको भिडियो सन्देशप्रति कटाक्ष गर्दै बास्कोटाले प्रश्न गरे–तथ्य लुकाउने ? भ्रम छर्ने ?

थापाले केही दिनअघि फेसबुक लाइभमार्फत विधेयक उचित नभएको भन्दै आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा करीव दश मिनेट सूचना प्रविधि विधेयकबारे बोलेका मन्त्री बास्कोटाले पटक पटक भिडियो सन्देश जारी गर्ने नेताले तथ्य लुकाएर सरकारविरुद्ध जनतालाई भड्काउन सकिन्छ भन्ने दुस्प्रयास गरेको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्