काठमाडौं, पुस १८ । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो बढेको छ ।
देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरूको खोजीका साथै उद्धार भइरहेको अधिकारीरूले जानकारी दिएका छन् ।
अष्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । तटीय सहरमा धुवाँ र खरानीले घरहरू ढाकिएकोले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म कम्तीमा १२ पुगेको पुष्टि भएको छ ।
सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्कालीनस्तरका दर्जनौँ डढेलो लागेको अधिकारीले जनाएका छन् ।एजेन्सी