Logo

इराकका नेपाली, भित्र छौं, बाहिर थाहा छैन



काठमाडौँ, २१ पुस । इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं । भित्रै बस्छौं । बाहिरी वातावरणबारे खासै जानकारी छैन । त्यसैले डर लागेको छैन,’ उनले टेलिफोनमा भने । उनले सडकमा हतियारधारी सुरक्षाकर्मी हिँडिरहेको भने देखिने गरेको सुनाए ।

इराकको राजधानी बग्दादस्थित बेबिलोन होटेल, यस होटेलमा सुरक्षा गार्ड, कुक, वेटरलगायत विभिन्न पदमा एक सयभन्दा बढी नेपाली कार्यरत छन् । बेबिलोन होटलमा मात्रै करिब सय जना नेपाली कार्यरत छन् । उनीहरू सुरक्षा गार्ड, वेटर, कुक लगायतका काममा छन् । त्यहीँ कार्यरत गोरखाका कुन्दन घलेले सुरक्षा जोखिम महसुस भइनहालेको बताए । ‘युद्ध भइहाले करिब १२ किलोमिटर टाढा अमेरिकी दूतावास रहेको ग्रिन जोनमा बढी थ्रेट हुन्छ,’ उनले भने । घलेका अनुसार अन्य मुलुकका समेत दूतावास रहेको ग्रिन जोनमा केही नेपाली सुरक्षा गार्ड छन् । ‘त्यहाँ नेपाली छन् भन्ने सुनेका छौं तर हाम्रो सम्पर्क छैन,’ ६ वर्षदेखि इराकमा रहेका उनले भने । बग्दाद सहरबाट बाहिर अमेरिकी सैन्य क्याम्प छ । अमेरिकाले मध्यपूर्व लक्ष्य गरेर इराकमा सैन्य क्याम्प राखेको हो । अमेरिकाले ड्रोन आक्रमणबाट इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ । अमेरिकी सैन्य क्याम्पका कारण अमेरिका–इरान युद्ध भए त्यसको असर इराकी क्षेत्र र त्यहाँ रहेका नागरिकमाथि पनि पर्ने आकलन गरिएको छ ।

नेपाली सुरक्षाकर्मीलाई सबैभन्दा बढी रोजगारी दिएको सुरक्षा कम्पनी जीफोरएसले भने तीन वर्षयता नेपालीलाई फिर्ता पठाइसकेको छ । ‘हामी हुँदा बग्दादमा रहेका सबै देशका दूतावासको सुरक्षाको जिम्मेवारी नेपालीकै हातमा थियो । श्रम स्वीकृति नदिइएपछि सुरक्षा कम्पनीहरूले निरन्तरता दिएनन्,’ बग्दाद छाडेर इराककै अर्को सहर बास्रा पुगेका एक नेपाली सुरक्षा अधिकृतले कान्तिपुरलाई भने, ‘नेपाली कतै–कतै होलान् । तर, पहिले जस्तो छैनन् ।’ उनले बाहिर होहल्ला भएजस्तो आफूलाई केही नलागेको बताए । ‘यहाँका अधिकतर कम्पनी पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । घलेले भने लडाइँ भएर जोखिमको अवस्था आए तत्काल स्वदेश फर्काइदिने आश्वासन होटलले दिएको बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्