काठमाडौं, २५ पुस । इराकको राजधानी बग्दादमा सरस्वती घर्ती बुधबार राति ड्युटी सकेर बेडमा निदाउन मात्रै लागेकी थिइन्, रकेट पड्किएको ठूलो आवाज आयो । हत्तपत्त दौडिएर बंकरतिर हान्निइन् । बंकरमा पुग्दा नपुग्दै फेरि अर्को रकेट पड्किएको आवाज सुनियो । त्यहाँ अरू नेपाली महिला पनि आइपुगे । ‘त्यसरी रकेट आउँछ भन्ने थाहै थिएन । एक्कासि मुटु हल्लाउने आवाज आयो,’ उनले भनिन्, ‘एकछिन त डर लाग्यो । तर त्यसपछि रातभार सामान्य भयो ।’
बर्दियाकी घर्ती सबभन्दा सुरक्षित मानिएको ‘ग्रिन जोन’ मा कार्यरत छिन् । उनी बस्ने क्याम्पमा ९ जना नेपाली महिला छन् । क्याम्प अमेरिकी दूतावास रहेको ठाउँबाट ५ सय मिटर नजिकै छ । बुधबार रातिपड्किएको रकेट कहाँ खस्यो, कति क्षति गर्यो भन्नेबारे घर्तीलाई थाहा छैन । ‘कुनै नेपालीलाई केही भएको सुनिएको छैन,’ उनले भनिन् । इराकी सेनाका अनुसार मध्यराति ११.४५ बजे ग्रिन जोनभित्र दुइटा ‘कट्युसा रकेट’ झरेका थिए । त्यसबाट क्षति भएको रिपोर्ट नरहेको सेनाको दाबी छ । कसले रकेट प्रहार गर्यो भन्ने पनि खुलेको छैन । ग्रिन जोनभित्र सुरक्षित बंकरहरू रहेकाले आफूहरूलाई खासै डर नलागेको घर्तीले बताइन् । ‘६ वर्षदेखि यहाँ काम गरिरहेकी छु । हाम्रो कम्पनीले पनि डर मान्नुपर्दैन भनिरहेको छ,’ उनले भनिन्, ‘कम्पनीकै विश्वासमा बसिरहेका छौं ।’ ग्रिन जोन बग्दादको अन्तर्राष्ट्रिय क्षेत्र नामले पनि परिचित छ । यो झन्डै १० वर्ग किलोमिटरमा फैलिएको छ । ‘इराकका मुख्य मन्त्रालयका साथै विदेशी कम्पनी, दूतावास सबै यहीँभित्र छन्,’ ४ वर्षदेखि त्यहाँ कार्यरत प्रेम लामाले भने, ‘हरेक कम्पनीको कार्यालयमा नेपाली कामदार छन् ।’
अमेरिकी दूतावास भएकै कारण पछिल्लो समय यो क्षेत्रमा सुरक्षा खतरा बढेको नेपाली कामदारको बुझाइ छ । पुस १५ गते अमेरिकी दूतावासमाथि स्थानीय इराकीको समूहबाट आक्रमण भएको थियो । रेड जोनमा कार्यरत नेपालीले पनि ग्रिन जोनमै सुरक्षा खतरा बढेको बताए । ‘हामी ग्रिन जोन बाहिर छौं । पहिला हामी बसेको ठाउँ असुरक्षित छ भन्थे । हाम्रो मनमा केही डर थियो । बितेको सातादेखि ग्रिन जोन सुरक्षित छैन,’ ७ वर्षदेखि बग्दादमा कार्यरत कुन्छामान घलेले भने । सुरक्षा गार्ड रोल्पाका सूर्यमान गुरुङले ग्रिन जोनभित्र रहेका अधिकांश दूतावासमा नेपाली सुरक्षा गार्ड रहेको बताए । ‘नेपाल फिर्ने कि ड्युटीलाई निरन्तर दिने भन्नेमा हामी अलमलमा छौं,’ उनले भने, ‘अहिले नै डराइहाल्नुपर्ने अवस्था त छैन । तैपनि भविष्यमा के हुन्छ, यसै भन्न सकिँदैन ।’
यो क्षेत्रभित्र रहेका कम्पनीले आफ्ना कामदारलाई सतर्क राखेका छन् । ‘कम्पनीले घर फिर्न चाहने कामदारको नामावली संकलन गरिरहेका छन् । काम गर्नैपर्छ भनेका छैनन्,’ गुरुङले भने । धेरैजसो कम्पनीले आवश्यक कामदार मात्रै राखेर अरूलाई घर पठाउन थालेको उनले बताए । ग्रिन जोनभित्र कम्तीमा दुई सय नेपाली कार्यरत छन् । घरेलु कामदारको भने संख्या खुलेको छैन । ‘आवासीय भवन पनि यहीँभित्र छन् । सपिङ मलमा धेरै नेपाली महिला घरेलु कामदार मालिक्नीहरूसँग आएको देखिन्छ,’ उनले भने, ‘मलाई त हरेक घरमा नेपाली छन् जस्तो लाग्छ ।’ सिन्धुपाल्चोककी संगीता तामाङले ७ वर्षदेखि इराकी सरकारी अधिकारीको घरमा काम गरिरहेको बताइन् । ‘मालिकले केही दिन हेरेर निर्णय दिन्छु भनिरहेका छन् । मालिकले जे भन्छन् त्यही गर्छु,’ उनले भनिन् । उनले आफूले मासिक ८ सय डलर तलब पाउँदै आएको बताइन् । ‘नियमित तलब पाइन्छ । हतारिएर किन निर्णय लिनु रु’ उनले भनिन्, ‘पैसाभन्दा त ज्यान नै ठूलो हो । तैपनि त्यत्तिकै दौडिएर फर्किने कुरा भएन ।’
गोरखाकी माया गुरुङलाई भने आफन्त र छोरीहरूले फर्कन दबाब दिइरहेका छन् । ‘नेपालबाट सबैले फोन गर्छन् । इराकमा राम्रो छैन भन्छन् । नेपालबाट आउने फोनले मनमा डर पलाइरहेको छ,’ उनले भनिन्, ‘म्याडम ९घरधनी० ले भने खतरा छैन, खतरा भयो भने पठाइदिन्छौं भनेकी छन् ।’ इराक मामिला हेर्ने कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले कुवेतमा रहेको इराकी दूतावाससित समन्वय भइरहेको जानकारी दिए ।
कान्तिपुर दैनिकबाट