Logo

आइजीपी खनालसहित २३ अधिकारीको पदावधि सकिदै गर्दा तिव्र प्रतिष्पर्धा



काठमाडौं, २५ पौष । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि आगामी माघ २९ गतेबाट समाप्त हुँदै छ । प्रहरी सेवाको ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशका आधारमा खनाल प्रहरी सेवाबाट बिदा हुँदै गर्दा उहाँको ठाउँमा जाने आकांक्षीको समेत दौडधुप सुरु भएको छ । खनालले छाडेर जाने कुर्सीका लागि यतिबेला प्रहरी सेवामै रहेका वरिष्ठ प्रहरी नायब महानिरीक्षकत्रयबीच तीव्र प्रतिस्पर्धा रहेको बताइन थालिएको छ । भावी महानिरीक्षकका रूपमा हाल चर्चामा आएका दावेदारमध्येका वरियताका आधारमा १ नम्बरमा रहेका प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली अहिले प्रदेश १ प्रहरी कार्यालयप्रमुख छन् । त्यसैगरी तारिणी लम्साल सुदूरपश्चिम प्रदेश प्रहरीप्रमुख र सूर्य उपाध्याय प्रहरी प्रधान कार्यालयमा छन् ।

नेतृत्व परिवर्तनका समयमा सधैंजसो चर्चामा रहने प्रहरी संगठनको नेतृत्व कब्जा गर्न आकांक्षी दावेदारमात्रै नभएर शक्तिकेन्द्रमा रहेका व्यक्तिको समेत उतिकै चासो रहने गरेको संगठन यसैले पनि बेला÷बेलामा विवादमा समेत आउने गरेको छ । अपराध अनुसन्धान र नियन्त्रणमात्र होइन– कानुन कार्यान्वयन र आन्तरिक सुरक्षा व्यवस्थापनको कार्यमा प्रत्यक्ष संलग्न हुने भएका कारण प्रहरी संगठनको नेतृत्व चयनप्रति सर्वसाधारणको समेत चासो रहने गर्छ ।

प्रहरी नियमावली, २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) मा ३० वर्ष सेवा अवधि (नोकरी गरेको ३० वर्ष) पूरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्थाअनुसार खनालसँगै प्रहरी सेवामा उहाँकै ब्याची अतिरिक्त महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि माघ २९ गते नै अनिवार्य अवकाशमा जाँदै छन् । खनालको पदावधि सकिन एक महिनामात्रै बाँकी रहँदा प्रहरीमा नयाँ नेतृत्वको चर्चा र ‘प्रतिस्पर्धा’ सुरु भइसकेको छ । यसपटकको प्रहरी सेवाबाट बहिर्गमनमा पर्ने प्रहरी हाकिममा महानिरीक्षकसँगै अतिरिक्त महानिरीक्षकसमेत अनिवार्य अवकाशमा जाने भएकाले प्रहरी प्रधान कार्यालयको भावी नेतृत्वको दौडमा प्रहरी नायब महानिरीक्षकहरु सामेल भएका छन् ।

नेपाल प्रहरीका २६ औं आईजी खनालले २९ माघ २०४६ मा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । अतिरिक्त महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि खनालकै ब्याचका अधिकृत हुन् । यी सँगै प्रहरी सेवाका १९ जना नायब महानिरीक्षक (डीआईजी)ले पनि माघ २९ मै अवकाश पाउँदै छन् । अवकाश पाउने यी सबै डीआईजी खनालकै ब्याचका हुन् ।

यससँगै अब प्रहरी नेतृत्वको दौडमा अवकाश पाउने तयारीमा रहेका खनालकै ब्याचका वैकल्पिकमा नाम निकालेका प्रहरी अधिकृतत्रय ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्य उपाध्याय अबको नेतृत्वका दावेदारका रूपमा छन् । २५ असार २०४७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली, लम्साल र उपाध्याय अहिले ‘वरिष्ठ’ डीआईजी हुनुहुन्छ । सरकारले वरिष्ठतालाई आधार मानेर प्रहरी नेतृत्वको चयन गर्ने हो भने वरिष्ठ डीआईजी त्रयबीच नै प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने स्पष्ट छ । तर वरिष्ठ डीआईजी त्रयमध्ये जो नेतृत्वमा पुगे पनि उहाँहरुको कार्यकाल भने आगामी २०७७ असार २५ गते सकिने छ ।

यसअघि सरकारले महानिरीक्षक पदमा खनालको नियुक्ति वरिष्ठताको आधारमा गरेकै कारण विगतकै आधारलाई मान्ने हो भने यतिबेला डीआईजी ठाकुर ज्ञवाली वरिष्ठतामा एक नम्बर छन् । यसैले पनि उहाँको सम्भावनालाई नकार्न सकिन्न तर, प्रहरी ऐनमा सरकारले प्रतिस्पर्धीमध्ये आफूलाई ‘उपयुक्त लागेको’ व्यक्तिलाई आईजीमा नियुक्त गर्न सक्ने व्यवस्था रहेकै कारण लम्साल र उपाध्यायको सम्भावनालाई समेत नकार्न सकिन्न । महानिरीक्षकको पदावधि सकिनु एक महिनाअगावै महानिरीक्षक घरबिदामा बस्ने र अयाँ महानिरीक्षकको नियुक्तिका लागि सरकारले औपचारिक प्रक्रिया थाल्नुपर्नेमा त्यसको प्रारम्भ भएको संकेतसम्म पाउन सकिएको छैन । साप्ताहिक विमर्शबाट



प्रतिक्रिया दिनुहोस्