Logo

राजीनामा दिन्न, भोलीको बैठक अघि बढाउँछु : शिवमाया तुम्बाहाम्फे



पुष २६, काठमाण्डौ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने स्पष्ट पारेकी छिन् । नेकपा सचिवालयले निर्णय गर्दैमा राजिनामा दिन बाध्य नहुने उनले बताएकी छिन् ।

रिपोर्टर्सनेपालडटकमका लागि ऋषि धमलासँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सचिवाल बैठकको निर्णयप्रति असन्तुष्टी व्यक्त गरिन् । नौ जना पुरष सदस्य रहेको सचिवालयले आफूलाई अन्याय गर्न खोजेको उनको आशय थियो ।

सचिवालयबाट अहिलेसम्म औपचारिक पत्र नआएको बताउँदै उनले आफूले राजीनामा दिनुपर्ने कारणसहितको पत्र आएपछि औपचारिक जवाफ दिने बताएकी छिन् ।

आफूले अहिलेसम्म कुनै गल्ती नगरेको जिकिर गर्दै उनले भनिन्–म भ्रष्टाचारी हुँ कि यौन दुराचारी हुँ कि ? राजीनामा दिनुपर्ने कारण के हो त ?

आफ्नो कामकारबाहीप्रति चित्त नबुझे संविधानबमोजिम महाअभियोग लगाउन पनि उनले चुनौति दिएकी छिन् ।

हिजो अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसँगको भेटमा मन्त्री पदको लोभ देखाइएको बताउँदै उनले राजीनामा नदिने भनेर हिजै भनेको स्मरण गराइन् ।

भोलि आफूले प्रतिनिधिसभाको बैठक अगाडि बढाउने पनि उनले बताइन् । सभामुख चयन प्रक्रिया अगाडि बढाउने बताउँदै उनले नेकपाले बेलैमा उचित निर्णय नगरे सभामुख पद अर्कै दलले फुत्काउन सक्ने चेतावनी पनि दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्