Logo

उपत्यकाको ट्राफिक लाईट अस्तव्यस्त, नियम छल्न सबै सिपालु



माघ ३, काठमाण्डौ । काठमाडौं उपत्यकाभित्रका अधिकांश ट्राफिक लाइट लामो समयदेखि चालू अवस्थामा छैनन् । कतिपय ट्राफिक लाइट वर्षौँदेखि बन्द छन् । ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त हुँदै आएको छ । ट्राफिक प्रहरीसमेत त्यही कारण हैरानीमा छन् । सवारी चालक र यात्रुलेसमेत सास्ती खेप्नु परेको छ ।

काठमाण्डौ उपत्यकाका सडकमा ट्राफिक लाइटका साथै आवश्यक सडक संरचनाहरु पर्याप्त मात्रामा नहुँदा सवारी साधन सञ्चालन अव्यवस्थित हुने गरेको छ । लाइट नभएका कारा उपत्यकाका कतिपय चोकमा तीनदेखि सात जनासम्म ट्राफिक प्रहरी खटिनुपरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने प्रवृत्ति धेरै सवारीचालकमा रहेकाले ट्राफिक व्यवस्थापन गाह्रो हुने गरेको छ ।

बिहान ८ देखि १० बजेको ‘पिक आवर’मा उपत्यकाका ३ वटै जिल्लाका मुख्य चोकहरुमा अधिक ट्राफिक जाम हुने गरेको छ । उपत्यकाभित्र जापान सरकारको सहयोग र नेपाल सरकारबाट २४ स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो, जसमध्ये ११ ठाउँका मात्र चालु छ । बाकी चोकमा सुचारु नै गरिएको छैन् । अबभने चोक चोकमा ट्राफिक लाईट राख्ने योजना महानगरिय ट्राफिक प्रहरी महासाखाले ल्याएको छ । २०७७ सालको वैशाख महिनाभित्रमा आवश्यक स्थानमा ट्राफिक बत्तीको व्यवस्थापन गरिने महाशाखाका प्रमुख भिम प्रसाद ढकालको दावी छ ।

सडक र सवारी व्यवस्थापनका लागि ट्राफिक बत्तिको व्यवस्थापन अनिवार्य जस्तै मानिन्छ । तर लाखौँ सवारी साधन गुड्ने काठमाण्डौ उपत्यकामा ट्राफिक बत्ति पर्याप्त छैनन् । हाल काठमाडौं उपत्यकामा १ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन् । विभिन्न ४० वटा इकाइमा विभाजित भएर उनीहरुले ड्यूटी गर्दै आएका छन् । तर पनि काठमाडौंका सवारी व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको ढकाल स्वीकार्छन् ।

नेपालमा पहिलो पटक विक्रम संवत् २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी गेट, सुन्धारा, न्युरोड गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । त्यसपछि ०५७ सालमा जापान सरकारले काठमाडौँका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरिदिएको थियो । ति लाइट बिग्रिएपछि २०६८ सालदेखि नै व्यवस्थित हुन सकेको छैन । बाग्मती अञ्चलमा मात्रै करिब १२ लाख सवारी दर्ता भएको यातायात व्यवस्था विभागको रेकर्ड छ । उपत्यकामा दैनिक करिब १० लाखको हाराहारीमा सवारीसाधन गुड्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot