माघ ८, काठमाण्डौ । लामो समयदेखि नसुल्झिएको नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि शीर्ष नेताहरु सक्रिय भएका छन् । पार्टी भित्र देखिएको विवाद समाधानका लागि बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच छलफल भएको हो ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताएका छन् । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास गरिने पौडेलले बताए ।
छलफलमा देउवा र पौडेलसँगै पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला सहभागि थिए । यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।
पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।