Logo

गृहसचिवका लागि यीनको प्रतिष्पर्धा



काठमाडौं, १४ माघ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राई ७ दिनपछि अवकाश हुँदैछन् । माघ २२ मा उनी अवकाश भएपछि गृहसचिव हुनका लागि सचिवहरुको चर्को दौड सुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र देशभरका प्रमुख जिल्ला अधिकारीको खटनपटन, सरुवा बढुवा गर्र्र्न पाउने भएकाले गृहसचिव हुनका लागि सचिवहरुबीच हानथाप हुने गरेको छ ।

गृहमन्त्रालयको सचिव भएपछि प्रधानमन्त्रीसँग सोझै कनेक्सन हुने गर्दछ । गृहसचिव हुनेले गृहमन्त्रीको मन जितेर मात्र हुँदैन, प्रधानमन्त्रीको पनि उत्तिकै विश्वास आर्जन गर्नुपर्छ । जुन विश्वास प्रधानमन्त्री केपी ओलीले प्रेम राईप्रति गरेका थिए । गृहमन्त्रालयका सचिव राई अवकाश हुनु ४ दिनअघि माघ १८ मा बिदा बस्ने तयारीमा छन् । सशस्त्रमा डीआइजी र नेपाल प्रहरीमा एसएसपी लगायतका धेरै पद रिक्त छन् । ती पदमा बढुवा गर्नका लागि गृहसचिव नै अध्यक्ष हुन्छन् । यद्यपि, आइजीपी सर्वेन्द्र खनाल अवकाश नभएसम्म प्रहरीका बढुवा नै नहुने संभावना बढेको छ । उनी माघ २८ मा अवकाश हुनेछन् ।

गृहमन्त्रालयको सचिवका लागि अख्तियार दुरुपयोग अनुसन्धान आोगका सचिव महेश्वर न्यौपाने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले जोडबल गरिरहेका छन् । १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी र २ नम्बर प्रदेशका रामकृष्ण सुवेदी पनि सचिवको लाइनमा छन् ।

गृहसचिव राईसहित अर्थमन्त्रालयका सचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर अवकाश हुने भएपछि रिक्त पदमा बढुवा हुने र सोझै गृहमन्त्रालयको सचिव हुने दाउमा कलकत्ताका महाबाणिज्यदूत एकनारायण अर्याल छन् । यसअघि सरकारले सचिव बढुवा हुनासाथ प्रदेशमा प्रमुख सचिवमा पठाउने गरेको छ । तर कोइराला भने नेकपाका नेताहरुसँग कनेक्सन राम्रो भएकाले आफू बढुवा भएपछि गृहमन्त्रालयमै पदस्थापन हुने भन्दै लागेका छन् ।

प्रशासनतर्फ ३ सचिव खाली हुँदा उनी यो पटक बढुवामा पर्ने संभावना छ । गृहसचिवको दौडमा शक्तिकेन्द्रमा धाउँदैआएका भूमिब्यवस्था सचिव गौतमले जागिरको सबै अवधि शिक्षा सेवामा बिताएका हुन् । गृहसचिवमा प्रायः सचिव प्रमुख जिल्ला अधिकारीको अनुभव भएकालाई लाने गरिएको छ । उनीसँग गृहप्रशासनको अनुभव नै छैन । हालका सचिवहरुमा अख्तियारका न्यौपाने, पर्यटनका अधिकारी, संघीय मामिलाका कोइराला, १ नम्बर प्रदेशका सुरेश अधिकारी, २ नम्बरका सुवेदी, काठमाडौं महानगरपालिकाका न्यौपानेसँग गृहप्रशासनको अनुभव छ ।

त्यसो त भूमिब्यवस्था सचिव गौतममाथि लोकसेवा आयोगले लिएको शिक्षा संकायको परीक्षामा श्रीमती इन्दिरा ढकाललाई पास गराएको आरोप लागेको थियो । महालेखा नियन्त्रकको कार्यालयका प्रमुख हुँदा लेखा समूहका कर्मचारीको सरुवामा अनियमितता गरेको आरोप उनीमािथ लागेको थियो ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्