Logo

मित्रराष्ट्रको साथ खोज्दै चीन



बेइजिङ,माघ १५ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ। विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो।

चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न आह्वान गरेको छ।

चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए। चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ।

यसैबीच चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले उहानमा रहेका नेपालीको सुरक्षा सम्बन्धमा छलफल गरेका छन्। उनले संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेको कदमप्रति नेपालको समर्थन रहेको प्रस्ट पारेका छन्।

उनले हुपै प्रान्तको उहानमा रहेका नेपालीको सुरक्षाका लागि सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। चीनले हुपै प्रान्तमा रहेका विदेशीलाई स्वदेश फर्काउन नयाँ नीति जारी गरेमा तत्काल जानकारी गराइने राजदूत पौड्यालले बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्