Logo

गीत चोरिएको ३५ वर्षपछि म्युजिक नेपालविरुद्ध मुद्दा हाल्ने तयारीमा रेडियो नेपाल



काठमाडौँ, १७ माघ । फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् !
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो गीत बेच्न राखेको छ, म्युजिक नेपालले । प्रतिलिपि अधिकार पनि म्युजिक नेपालमै सुरक्षित छ । तर, यस गीतको न सर्जक म्युजिक नेपाल हो, न उत्पादक । यसको प्रथम आर्थिक स्वामित्वको अधिकार राख्छ– रेडियो नेपालले ।

यो गीत रेकर्ड गरेबापत् रेडियो नेपालले फत्तेमान मात्र होइन, संगीतकार नातिकाजी, गीतकार तीर्थराज तुलाधार, वाद्यवादक र प्राविधिकलाई पारिश्रमिक दिएको थियो । अर्थात्, यो सरकारी सम्पत्ति हो । तर, डिजिटल बजारमा बेचेबापत् म्युजिक नेपालले लाभांश दिनु त परको कुरा, बिक्रीका लागि रेडियोसँग अनुमतिसमेत लिएको छैन । जब कि सन् २०११ बाट अमाजोनमा राखिएको यो गीतको मूल्य छ– ९९ सेन्ट (करिब एक सय १० रुपैयाँ) । संगीत व्यापारसम्बन्धी न्युज पोर्टल  डिजिटलम्युजिकन्युज डटकमले अघिल्लो वर्ष सार्वजनिक गरेको रिपोर्टअनुसार १० लाखपटक गीत प्ले हुँदा युट्युबले सरदर ६ सय ९० डलर दिन्छ भने नेपस्टरले १९ हजार डलर । त्यस्तै, टिडलले १२ हजार ५ सय र एप्पल म्युजिकले ७ हजार ३ सय डलर दिन्छ । तर, गीतको मूल मालिक रेडियो नेपाललाई यसको पत्तै छैन । सरकारी सिर्जनामाथि म्युजिक नेपालको रजगज चलिरहेको छ ।

फत्तेमानको ‘मर्न बरु।।।’ मात्र होइन, रेडियो नेपालका ३५ हजारभन्दा ज्यादा गीतमाथि म्युजिक नेपालले अधिकार कब्जा गरेको स्रष्टाहरूको दाबी छ । प्रतिलिपि अधिकारप्राप्तिको अभियानमा सक्रिय स्रष्टाहरूका अनुसार यी गीत संसारका ५ सयभन्दा धेरै स्ट्रिमिङ सेवा र पोर्टलमा बेचबिखन भइरहेका छन् । युट्युबबाहेक प्रायः पोर्टलमा त संगीतकार र गीतकारको नामसमेत उल्लेख गरिएको छैन ।

म्युजिक नेपाल ०३९ मा खुल्यो, त्यसको दुई वर्षपछि नै रेडियो नेपालको स्वामित्वमा रहेका गीतहरूको उसले क्यासेटमार्फत बिक्रीवितरण गरेको पाइन्छ । उसले डिजिटल बजारीकरण सुरु गरेको पनि डेढ दशक नाघिसकेको छ । यसरी आफ्ना सिर्जना खुलेआम बेचबिखन हुँदा रेडियो नेपाल किन मौन बस्यो रु म्युजिक नेपालसम्म रेडियोका गीतहरू कसरी पुगे रु सरकारी सम्पत्तिमाथि यतिबिघ्न दोहन हुँदा पनि त्यसविरुद्ध किन कुनै औपचारिक कदम चालिएको छैन रु संगीतवृत्त यी सवालले तातेको छ । गीतकार यादव खरेलसमेत भन्न थालेका छन्– ‘रेडियो नेपालको सम्पत्तिमा रजाइँ चलिरहेको छ तर स्वयं उसमा चासो देखिन्न । यसको सन्देश के हुन्छ रु’

यसरी “चोरिए”
अचम्म त के भने, रेडियो नेपाललाई नै थाहा छैन, ऊसँग कति गीत छन् र कति चोरिए । स्रष्टाको दाबी पत्याउने हो भने, रेडियो नेपाल आफैंले उत्पादन गरेको र रत्‍न रेकर्डिङबाट रेडियोले स्वामित्व ग्रहण गरेका ५० हजार गीत म्युजिक नेपाल पुगेका छन् । तर, ३३ वर्ष रेडियो नेपालमा काम गरेका कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारी यो आँकडामा सहमत हुँदैनन् । उनका अनुसार रेडियोसँग ५० हजार गीत भए पनि १५ हजारजति चाहिँ हिन्दी गजल, अंग्रेजी गीत थिए । भण्डारी भन्छन्, ‘गीतको यकिन संख्या केही दिनमा मात्र भन्न सक्छौं ।’ संख्या जति भए पनि म्युजिक नेपालसम्म पुग्नु गलत भएको भन्न भने छुटाएनन् भण्डारीले ।

जब म्युजिक नेपाल खुल्यो, स्रष्टाहरूले भटाभट आफ्ना गीत रेडियो नेपालबाट लिन थाले । तर, उत्पादन खर्च रेडियो नेपालले बेहोरेकाले स्रष्टामा ती गीतलाई बेच्ने आधिकारिक अधिकार भने दिइएन । गीत लैजादा ‘प्रचलित कानुनविपरीत नहुने गरी गैरव्यावसायिक कार्यमा मात्र प्रयोग गर्नेछुरगर्नेछौं’ भनेर सही छाप लगाइयो । भण्डारीका अनुसार गोपाल योञ्जन, तारादेवी, नातिकाजी, फत्तेमान, अरुण थापा, राम थापा, प्रकाश श्रेष्ठलगायत स्रष्टाले आफैंले गीत लगे । त्यसरी लगेका कतिपय गीत म्युजिक नेपालसम्म पुगेको भण्डारीको दाबी छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्