Logo

बाँकी लाइसेन्स प्रिन्ट गर्न ६ महिना लाग्ने



काठमाडौं, माघ १८। प्रिन्ट गर्न बाँकी करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ । तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी अहिले दैनिक करिब पाँच हजार लाइसेन्स प्रिन्ट भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

विभागले दुई हप्तादेखि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरेको छ । महानिर्देशक हमाल भन्नुहुन्छ, “मास प्रिन्टरबाट एक लाखभन्दा बढी प्रिन्ट भइसकेको छ, तीनवटा पुराना प्रिन्टरले दैनिक करिब एक हजार प्रिन्ट गर्छन्, यही गतिमा काम अघि बढे पाँच÷छ महिनामा सामान्य गतिमा आउँछौँं, प्रिन्ट गर्न बाँकी रहेको सबै लाइसेन्स सक्छौँ । ”

यातायात व्यवस्था विभागले मागअनुसार लाइसेन्स वितरण गर्न नसकेपछि २०७२ सालदेखि प्रिन्टको काम गर्न बाँकी रहँदै आएको थियो । सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नु परेको विभागले जनाएको छ । स्मार्ट लाइसेन्स लागू गरिएपछि प्रिन्ट गर्न बाँकी काम थपिँदै आएको थियो । हाल यस्ता लाइसेन्सको सङ्ख्या सात लाख रहेको हमालले जानकारी दिए।

प्रिन्ट कागजको समस्या नरहेको उनको भनाइ छ ।मागअनुसारको आपूर्ति हुन नसक्दा प्रिन्ट बाँकी रहेको विभागको दाबी छ । त्यसमा पनि स्मार्ट लाइसेन्स लागू गर्नुभन्दा पहिला सही व्यवस्थापन हुन नसक्दा काम बाँकी रहेको बताइएको छ ।

महानिर्देशक हमालका अनुसार हाल दैनिक तीन हजार लाइसेन्सको माग छ । महिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।थप अर्को मास प्रिन्टर ल्याउने तयारी भएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot