Logo

निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, पहिला ठूलो मान्छे समाउ : चन्द्र भण्डारी



काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाससद डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘कानूनको नजरमा सबै समान हुनुपर्यो । नेपालमा अहिले पोलिसी, पोलिटिकल र डेभलेपमेन्टमा भ्रष्टाचार छ । जबसम्म राजनीतिक भ्रष्टाचार नियन्त्रण हुँदैन् । तबसम्म अरु भ्रष्टार रोकिँदैन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि आयोजना गरेको विशेष साक्षात्कारमा उनले पाकिस्ताका प्रधानमन्त्री ईमरान खनाले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर देशमा भएको ठूला–ठूला भ्रष्टाचारको बारेमा बोलेको सुनाए ।

उनले भने,‘भ्रष्टाचारले आक्रान्त बनाएपछि देशले कहिल्यैपनि विकास गर्दैन् । हाम्रो देश विश्वकै सबैभन्दा राम्रो देश हो, प्राकृतिक रुपमा पनि हामी धनी छौं । नेपाल शिक्षा र मेडिकलमा पनि हब हो । योगमाया र वीर गोरखालीको देश हो ।’ उनले नेपालमा नेताहरु नेताको अर्थ नै नुबझिकन राजनीतिमा लागेको पनि तर्क गरे ।

‘नेताहरु दरबार बनाउन लागे, आफू र आफ्नालाई कसरी सम्पन्न बनाउने भन्नेमै यस्तो देखियो ।’–उनले भने,‘हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु भनेको माग्ने देशका ठूला नेताको रुपमा परिचित छन् ।’ नेपाल विकास नहुनु भनेको बाधक नै भ्रष्टाचार भएको उनको टिप्पणी छ । नेपालमा ठूलाहरु बच्ने र सानाहरु मर्ने अवस्था रहेको दुरावास्था पनि भण्डारीले सेयर गरे ।

देशमा भएका संस्थाहरु बलिया भए भनेमात्रै देश बलियो हुने उनको तर्क छ । तर, नेपाल त पछिल्लो समय असफल राष्ट्रको रुपमा दर्ज हुन लागेको उनको गुनासो छ। उनले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्दा विभेद गरेको आरोप लगाए । उनले बालुवाटारको ललिता निवास प्रकरणमात्रै नभएर नेपालमा वाईडबडी, बुढीगण्डकी लगायत धेरैमा भ्रष्टाचार भएको टिप्पणी गरे । उनले नेपालमा भ्रष्टाचार वा गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गरे ।

उनले अहिलेसम्म अख्तियारले तलकालाई मात्रै कारबाही गरिएको गुनासो पोखे । उनले भने,‘हिम्मत भए सिंहदरबारबाट कारबाही सुरु गर्नुपर्छ ।’ उनले आफूले त नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाएको पनि सुनाए । उनले भने,‘नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, पारदर्शी बनाउनुपर्छ ।’ उनले यो प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदार मुछिएको विषयमा पार्टीले लिएको पछिल्लो निर्णय आफूलाई मान्य भएको बताए ।
उनले भने,‘विजय गच्छदारलाई कारबाही हुँदा त्यहाँ सँगै बसेकाहरुलाई पनि कारबाही हुनुपर्यो नि । निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? पहिला ठूलो मान्छे समाउन ।’



प्रतिक्रिया दिनुहोस्