Logo

ज्ञवाली आइजीपी बन्ने, पाँच महिना यीनको चल्नेछ प्रतिष्पर्धा



काठमाडौं, २४ माघ । अन्ततः प्रहरीमा ३२ वर्षे बनाउने र आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित भयो । २९ माघबाट आइजीपी सर्वेन्द्र खनाल अवकाश पाउँदा उनका ब्याची तीन एआइजीपी र १७ डिआइजी घर जाँदैछन् । ३२ वर्ष बनाएर भएपनि आइजीपी बन्ने पुष्कर कार्कीको उद्देश्य पूरा हुन सकेन । खनालले थप छ महिना आइजीपी बनेर प्रहरी नेतृत्व लिने इच्छा राखेपनि प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।

अबको आइजीपीको कार्यकाल पाँच महिनामात्र भएको र दुईजना मात्र प्रतिष्पर्धी भएकाले खासै चासो भइरहेको छ । डिआइजी वरियतामा आफ्नो ब्याचीमा अग्रपंक्तिमा रहेका ठाकुर ज्ञवाली आइजीपी हुने निश्चितप्रायः छ । उनलाई आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आइजीपी नियुक्त गर्ने तयारी अगाडि बढिसकेको छ । त्यसपछि उनका ब्याचीमध्येबाट एआइजीपी बनाइनेछ । तर, त्यसपछिका ब्याचीबाट एआइजीपी बन्ने प्रयास शुरु भइसकेको छ ।

ज्ञवालीको ब्याचीपछि आइजीपी बन्नेले झण्डै दुई वर्ष नेपाल प्रहरीको कमान्ड गर्नेछ । जसमा शैलेश थापा क्षेत्री र हरि पाल मुख्य प्रतिष्पर्धी छन् । यी दुईमध्ये जसले एआइजीपी बन्ने मौका पाउँछ उही भावी आइजीपीको दौडमा अगाडि भइहाल्छ । त्यसैले पनि अहिले देखि नै थापा र पालबीच दौड चलेको छ । यस्तै अवस्था रहेमा थापा आइजीपी बन्ने निश्चितप्रायः भइसकेको छ । अख्तियारबाट गृहमन्त्रालयमा महेश्वर न्यौपानेको सरुवाले शैलेश थापा क्षेत्रीलाई लाभ पुगेको छ । दुवैको गृहजिल्ला भक्तपुर हो । तर, पाल नेपाल प्रहरीमा निकै खेल्न सक्ने उच्च प्रहरी अधिकृतका रुपमा परिचित छन् । उनले धेरै प्रतिष्पर्धीलाई उछिन्दै दुई नम्बर वरियतामा डिआइजी बढुवा हुन सकेका थिए । यसकारण पनि पाललाई पछाडि पार्न शैलेश थापा क्षेत्रीलाई ठूलो चुनौती छ ।

थापा र पालका ब्याचीका निरज शाही र प्रद्युम्न कार्की पनि प्रतिष्पर्धीमध्येका हुन् । तर, टाढा कार्की डिआइजी बढुवामा पछि परिसके । यसकारण पनि उनलाई आउँदो वर्ष आइजीपी बन्न कठिन भइसकेको छ । शाही सरल र चलखेल नगर्ने स्वभावका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । बरु उनीहरुभन्दा पछिल्लो ब्याचका विश्वराज पोखरेल निकै चलाख प्रहरी अधिकृत मानिन्छन् । आफूभन्दा माथिल्लो ब्याचीलाई समेत पछि पार्दै पोखरेल डिआइजी बनेका थिए । उनी यही नियमावली अनुसार भविष्यमा छोटो समयका लागि आइजीपी बन्नेछन् । तर, पाँच महिनापछि नै आइजीपी बन्ने दौडमा पोखरेल लागिसकेका छन् । शैलेश थापा क्षेत्री र हरि पालको ब्याचीसँगै आफूपनि आइजीपीको प्रतिष्पर्धीका रुपमा उभ्याएका छन् ।

वर्तमान आइजीपी खनालले शैलेश थापालाई बढी रुचाएको देखिएकै हो । थापा आइजीपीको सचिवालयमा बसेर दुईपटक प्रवक्ता भए । विश्वराज पोखरेल पनि आइजीपी नजिक रहेर काम गरे । हरि पाल एक्सनमा जानसक्ने प्रहरी भएकाले आइजीपीले रुचाएकामा पर्छन् । तर, उनलाई धेरै नजिक राखेर काम गरेनन् । आफ्नो स्वभाव अनुसार आइजीपी खनालले सरल स्वभावकालाई नजिक राखेर काम गरे । खरो स्वभावकालाई भने टाढा पारेको विषय प्रहरीमा चर्चाको विषय बन्ने गरेको छ । अब हुने आइजीपी बढुवामा वर्तमान आइजीपीको कुनै न कुने भूमिका हुने नै भयो । त्यसपछि बन्ने आइजीपीमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ ।

यसैगरी, आइजीपी खनालले सेवानिवृत्त हुनुअघि कसैलाई नचिढ्याउने नीति बनाए । उनी सरुवा बढुवामा सक्रिय भएका छैनन् । सरुवा संशोधन मात्र गरे । खाली रहेको डिआइजी, एसएसपी र एसपी बढुवामा संलग्न रहेनन् । अब हुने आइजीपीले नै यसको टुंगो लगाउने गरी छाडिदिने बुझिएको छ ।- विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot