काठमाडौं, माघ २७ । लिटिल बुद्ध नाम चिनिदै आएका तपस्वि रामबहादुर बमजन सिन्धुली आश्रमबाट फरार रहेका छन्। आफ्नै अनुयायीलाई यौन शोषण गरेको आरोप लागेका उनको पछिल्लो अवस्थाको बारेमा प्रहरी समेत अनभिज्ञ रहेको छ ।
प्रहरीले उनलाई पक्राउ गर्न निकै प्रयास गरिरहेको बताएपनि सफल हुन भने सकेको छैन् । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली नै पक्राउ गर्न उनको आश्रमको कुना–क्ुनामा खोजी गरेपनि आश्रममा उनी भेटिएनन् ।
बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बमजनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा पुग्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
बमजनविरुद्ध यौनहिंसाको मुद्दा सर्लाही जिल्ला अदालतमा परेकाले उनलाई पक्राउ गरी अदातलमा उपस्थित गराउन सकेको छैन् । उनलाई पक्राउ गर्न नसकेपछि उनका सहयोगीलाई भने प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
शनिबार दिनभर उनी हुन सक्ने सम्भावित ठाँउमा खोजीकार्य जारी राखेको बताएको छ ।बमजनलाई पक्राउ गर्न सर्लाही र सिन्धुलीको प्रहरी टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली आश्रम पुगेको थियो तर, खालिहाल फर्किएको थियो ।