काठमाडौँ, २७ माघ । अमेरिकी अधिकारीहरूले नेपालको संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई अनुमोदन गराउन कसरत थालेका छन् । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दलकै नेताहरूलाई पटक–पटक भेटेर छिटोभन्दा छिटो सम्झौता अनुमोदन गराउन ‘लबिइङ’ गरिरहेका बेला एमसीसीका एक उच्च अधिकारीले पनि काठमाडौं उत्रिएर भेटघाट थालेका हुन् ।
एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स एमसीए नेपालका अधिकारीहरुसँगको छलफलमा तस्बिर स् एमसीए नेपालको फेसबुकबाट नेपाल भ्रमणमा रहेका एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आइतबार सम्झौता अनुमोदन गराउनकै लागि आफ्नो राजनीतिक भेटवार्तालाई तीव्र बनाए । ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटवार्ता गरे । स्रोतका अनुसार उनले तीनै जनासँग एमसीसीसँगको सम्झौतालाई संसद्बाट अनुमोदन गराउन आग्रह गरेका थिए ।
जवाफमा उनीहरूले संसद्को यही हिउँदे अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा पार्टीभित्र र बाहिर पटक–पटक सम्झौता अनुमोदन हुने बताउँदै आइरहेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले एमसीसी संसद्बाट अनुमोदन गराउने निर्णय गरिसके पनि सत्तारूढ दलभित्र यसलाई लिएर मत बाझिएको छ ।
(कान्तिपुर दैनिकबाट)