Logo

बंगुरको वीर्य बेचेर करोडपति



झापा २८ माघ । घरमा साहुको लर्को लाग्न थाल्यो । बिहान उज्यालो भएदेखि साहुको डरले राती उठेर जंगल तिर जान्थेँ । दिनभरी जंगलमा नै बस्थेँ । साँझ सबै सुतेपछि अध्यारोमा घर फर्कन्थेँ । बाटोमा नयाँ मानिस देख्दा पनि मलाई नै खोज्दै आएको होला भनेर डर लाग्थ्यो । नेपालमा केही काम पाइनँ ।

मेरो सबै विकल्प सकिएर पछि ऋण गरेर कोरिया जाने योजना बनाएँ । यही क्रममा अढाई लाख रुपियाँ ऋण गरेँ । यो सबै पैसा दलालले खाई दियो । विदेश जाने सपना बन्द भयो । मेरो विदेशको बाटो विग्रीयो भन्ने सुनेपछि साहुले पैसा उठाउन दबाब दिन दैनिक आउन थालेँ । त्यसपछि म भाग्न थालेँ । वरपरका छिमेकी समेत यसले पैसा माग्छ भनेर तर्केर हिड्न थालेँ । कसैले एक सय रुपियाँ पनि पत्याउन छाडे । म विक्रम सम्वत् २०६१ सालमा यस्तै हालतमा पुगेको थिएँ ।

यसैबीचमा श्रीमतीले माइतमा दिएको पाँचसय रुपैयाँ खर्च बचाएर एउटा बंगुरको पाठो किनेर रुखको फेदमा डोरी बाँधेर मेरो पहिलो बंगुर पालनको पाइला अघि बढेको थियो । यो २०६१ सालबाट सुरु भएको बंगुर पालन यात्रा अहिले सफलताले चुमेको छ ।

झापाको कमल गाउँपालिका ४ सितापुरी निवासी बर्ष ४५ का संजिव कुलुङ राई अहिले मुलुककै सफल बंगुर पालक किसानको रुपमा स्थापित हुनुभएको छ । उहाँको बंगुर फर्म अहिले मुलुककै सबैभन्दा ठुलो मध्येको एक भएको छ । एउटाकाममा असफल भएको मानिस अर्को व्यवसायमा कसरी सफलता प्राप्त गर्नसक्दो रहेछ भन्ने राम्रो उदाहरणको पात्र बन्नु भएको सजिव कुलुङ राइ ।

उहाँले २०६३र०६४ सालमा कुलुङ बंगुर फर्म प्रालि मार्फत व्यवसायीक रुपमा बंगुर पालन ब्यवसाय सुरु गर्नुभएको थियो । बंगुर पालन व्यवसाय सुरु गरेको १२ बर्षको अन्तरालमा आफुले नसोचेको सफलता हात परेको बताउनुहुन्छ । मेरो अरु बिकल्प नभएपछि लगातार यही व्यवसायमा लगेँ । कडा मेहनेत गरेर लागेपछि व्यवसायले समेत मलाइ साथ दियो । अहिले मेरो बंगुर फर्ममा साना ठुला गरि कुल ८ सयवटा बंगुर रहेका छन् उहाँले जानकारी दिनुभयो ।

उहाँको कुलुङ बंगुर फर्मले मुख्य गरेर उन्नत जातको बंगुरको पाठापाठी उत्पादन गर्दै आएको छ । यहाँ बार्षिक रुपमा सातदेखि आठ हजारको हाराहारीमा पाठापाठी उत्पादन गरि बिक्री बितरण गर्दै आएको उहाँले बताउनुभयो । कुलुङ बंगुर फर्ममा बार्षिक रुपमा ७ करोडभन्दा बढीको कारोबार हुने गरेको छ । त्यस्तै बार्षिक रुपमा ७० देखि ८० वटा बंगुर मासुको लागि बिक्री हुने गरेका छन् । यस्तै मासिक रुपमा ६ सयबढी पाठापाठी उत्पादन हुने गरेका छन् ।

त्यतिमात्र होइन कुलुङले उन्नत जातको बंगुर ताजा बीर्य संकलन गरि कृत्रिम गर्भधारण समेत गराउदै आउनुभएको छ । उहाँले आफ्नै फर्म मार्फत अत्याधुनिक ल्याबबाट बोर जातको बंगुरको ताजा वीर्य संकलन तथा भण्डार गरि कृतिम गर्भाधारण ९एआई० समेत गराउदै आउनु भएको छ । उहाँले बार्षिक रुपमा तीन हजार ६ सय माउलाई एआई गर्ने गरेको जानकारी दिनुभयो । फर्ममा चार करोड भन्दा बढीको भौतिक संरचना नै निर्माण गरिएको छ ।

एक समय नेपालमा कुनै काम नपाएर विदेशको अन्तिम बिकल्प देख्नु भएका कुलुङ्ले अहिले आफ्नै फर्ममा २० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिन सफल हुनुभएको छ । कुनै अवस्थमा एक सय रुपैयाँ ऋण कसैले नपत्याएका कुलुङ्को र्फममा अहिले लगानी गर्न ठुला ठुला बैंक पैसा दिदैं धाउन थालेका छन् । अहिले कुलुङ कृषि बिकास बैंकको सबैभन्दा असल ऋणीको रुपमा पुरस्कृत समेत हुनुभएको छ । कडा मेहनेतबाट चाँडै सफल बन्नु भएका कुलुङले उत्पादन गरेका बंगुरका पाठापाठीले नेपालको माग धान्न नसकेको बताउनुहुन्छ । माग अत्यधिक छ । अग्रिम पेश्कि छोड्नेलेमात्र पाउने गरेका छन् । उहाँ अहिले सबै बेरोजगारका लागि गतिलो उदाहरण बन्नुभएको छ ।- गोरखापत्रका लागि टीकाराम उप्रेतीको रिपोर्ट साभार  Photo Source: Gorkhapatra



प्रतिक्रिया दिनुहोस्

Screenshot