फागुन ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामप्रति प्रतिपक्षी दल मात्रै होइन, सत्तारुढ दलकै नेताहरु पनि पूर्ण सन्तुष्ट देखिदैनन् । जनतामाझ गरेका बाचा र सरकारले गरेको कामबीच तालमेल नमिल्दा सरकार आलोचनाको सिकार भएको हो ।
प्रधानमन्त्री केपी ओलीले सरकारले दुई वर्षमा उल्लेख्य काम गरेको दावी गरे पनि प्रतिपक्षी दलहरुले भने अस्विकार गरेका छन् । विशेषगरी बजेट खर्च, विकास निर्माण र सृमिद्धको सवालमा सरकार असफल भएको आरोप लगाइएको छ । नेपाली कांग्रेसले भ्रष्टाचारविरुद्ध सरकार र अख्तियार मिलेर आफ्नो पराईका आधारमा कारबाही प्रक्रिया सुरु गरिएको भन्दै विधि र शाषनमाथि आक्रमण भएको आरोप नेता दिलेन्द्रप्रसाद बडुले लगाएका छन् ।
अर्को प्रतिपक्षी दल राजपाले पनि सरकारले जनताले अनुभूति गर्ने गरी काम नगरेको जिकिर गरेको छ । नेता राजेन्द्र महताले प्रधानमन्त्रीले संसदमा भनेजस्तो काम नभएको दावी गरेका हुन् ।
सत्तारुढ दलका सांसदहरुले भने सरकारले राम्रा कामको थालनी गरेका भन्दै प्रतिपक्षको आरोपमा पूरा सत्यता नभए पनि जनता खुशी हुन नसकेको भने स्वीकार गरे । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताले गरेको धेरै अपेक्षा पूरा गर्न सरकार सफल नभए पनि सरकार भने सही बाटोमा हिँडेको बताए । बाँकी रहेको तीन वर्षमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्न सरकार सफल हुनेमा नेम्वाङ विश्वस्त देखिए ।
सरकारले अघिल्लो बर्ष सार्वजानिक गरेको तथ्याङ र अहिले १ बर्षपछि आइपुग्दा समग्रमा हेर्ने हो भने सन्तोषजनक कामहरु देखिएको छैन । पाँच वर्षका लागि दुई तिहाई बहुमतसहित बनेको सरकारले दुई वर्ष पूरा गर्नु आफैँमा सुखद पक्ष हो । तर यस अवधिमा जनताले के पाए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।