Logo

दुई वर्षमा कांग्रेस पनि कमजोर प्रतिपक्ष



फागुन ३, काठमाण्डौ । संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो । प्रमुख प्रतिपक्षी दल कमजोर भयो भने सरकारले सहजै रुपमा गलत काम पनि गरिदिन सक्छ । झण्डै दुई तिहाई बहुमतसहितको सरकार हुँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस संख्यामा मात्रै होइन, एजेण्डाका हिसाबले पनि कमजोर देखिएको छ । केपी ओली नेतृत्वको सरकार दुई वर्षमा सफल हुन सकेन, त्यसैगरी कांग्रेस पनि असफल जस्तै देखिएको छ ।

सरकारका गल्तीकमजोरी औंल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलकै हो । अहिले संसदमा सत्तारुढ दल नेकपाको उपस्थिती झण्डै दुई तिहाई छ । दुई तिहाई बहुमतको सरकारले सही मार्ग निर्देश गर्नुपर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संख्या ज्यादै कम छ । नेकपाको १ सय ७४ सांसद छन् भने कांग्रेसको ६३ जना ।

संख्यात्मक रुपमा प्रतिपक्षी कमजोर हुनु स्वभाविक नै मान्न सकिन्छ । तर कांग्रेसले एजेण्डामा पनि प्रभावकारी भूमिका खेल्न सकेको छैन । विभिन्न विधेयकहरु विवादित भइरहँदा संसदमा कांग्रेसको भूमिकाभन्दा सडकमा जनताको भूमिका बढि प्रभावकारी देखियो । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा संलग्नलाई सरकारले पहिचान गर्न नसक्दा कांग्रेस मौन जस्तै छ । वाइडबडी विमान खरिदमा भएको अनियमितिताबारे सरकारले छानविन गर्न खोजेजस्तो गरेर टार्यो ।

तर कांग्रेस मौन छ । ललिता निवास जग्गा प्रकरणमा पनि बोल्न नपरे हुन्थ्यो जस्तो गरेको कांग्रेस जब अख्तियारले कांग्रेस नेता विजयकुमार गच्छादारसमेतलाई विपक्षी बनाएर मुद्धा दायर गर्यो, त कांग्रेसले तीन दिनसम्म लगातार संसद अवरुद्ध गर्यो । जुन देश र जनताका लागि नभै आफ्नै नेता जोगाउनका लागि थियो । यस्ता धेरै उदाहरण छन्, जसमा कांग्रेस चुकेको छ । तर कांग्रेस सांसदहरु भने यो स्वीकार गर्न तयार छैनन् । काग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंले ससंदमा सविधानको भावना र मर्म विपरित भएका विषयहरुको खबरदारी गरिरहेको दावी गर्छन् ।

त्यसो त कांग्रेस लागातार आन्तरिक किचलोमा रुमल्लिरहेको छ । जसले गर्दा पनि संसदमा कमजोर देखिएको कतिपयको टिप्पणी छ । नेतृ डिला संग्रौला यो तर्क पनि मान्न तयार छैनन् । तर सरकारलाई खबरदारी गर्न भन्दै कांग्रेसले गठन गरेको छायाँ सरकार पनि आफैँ छायामा परेको छ ।

सरकारलाई गलत बाटोमा हिँड्नबाट रोकेर सही बाटोमा हिँडाउने काम प्रतिपक्षीको हो । यही काम गरेर कांग्रेसले आगामी निर्वाचनका लागि आफूलाई सक्षम सावित गर्नुपर्ने हुन्छ । तर यसतर्फ कांग्रेसले ध्यान दिएको जस्तो देखिदैन ।



प्रतिक्रिया दिनुहोस्