Logo

४० जना अमेरिकी नागरिकमा नयाँ कोरोना भाइरसको सङ्क्रमण



टोकियो, फागुन ५ । जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन्।उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्।तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

करिब ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।जापानी अधिकारीहरूले बताएअनुसार पानीजहाजमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।

एक अमेरिकी यात्रीले क्वारेन्टाइनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको समाचारमा जनाइएको छ ।

यदि उडानमै रहेका बेला सङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिने बीबीसीले उल्लेख गरेको छ ।
उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्