Logo

राजपा सरकारमा जाने ‘च्याप्टर–क्लोज’, अब समाजवादीसँग एकता !



काठमाडौं, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा सहभागी हुने अध्याय समाप्त भएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले दिएको जानकारीअनुसार आफूहरु अब महाधिवेशनमा केन्द्रित भएकोले राजपा सरकारमा जाने च्याप्टर समाप्त भएको छ । बरु, उनले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया आरम्भ हुने जानकारी दिए ।

उनले भने,‘हामी र समाजवादीबीच एकताको प्रक्रिया सुरु हुन्छ । राजपाको महाधिवेशनभन्दा अघि नै एकता गर्नेगरि हामीले गृहकार्य थालेका छौं ।’ पछिल्लो समय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि दुई पार्टीबीचको एकता प्रक्रिया अवरुद्ध हुने हो कि भन्ने आशंकाबीच फेरि एकता प्रक्रिया आरम्भ हुने बुझिएको छ ।

यो बीचमा राजपा नेपाल सरकारमा जानेबारे विभिन्न हल्ला चलेका थिए । तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी भारत भ्रमणबाट फर्किएपछि अहिले नै सरकारमा नजाने निश्कर्षमा पार्टी पुगेको स्रोतको दाबी छ । संविधान संशोधनलगायतका विभिन्न माग राखेर राजपा सरकारमा जाने बुझिएको थियो । तर, पार्टीभित्रै तत्काल सरकारमा जान नहुने मत बलियो बनेपछि सरकारमा सहभागी हुने महतो र भण्डारीको योजना तत्काललाई तुहिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot