Logo

दुई काल पार गरेर जतकालको पीडा !



काठमाडौँ, ६ फागुन । बैतडीको तल्लो स्वराड क्षेत्रका महिलामा अझै पनि दुईवटा कालको पीडा कायमै रहेको छ । ती दुई पीडामा एउटा जतकाल (सुत्केरी) र अर्को महाकालीको जोखिमपूर्ण ट्युब पार गरेर सुत्केरी हुनुपर्ने काल कायमै छ ।

गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि चिकित्सकीय सेवा उपलब्ध छैन । रक्तस्राव रोक्ने औषधि र जिल्लामा दक्ष स्वास्थ्यकर्मी नहुँदा शिवनाथ गाउँपालिका–१ की २१ वर्षीया सुत्केरी गोमती चाँडको २०७६ भदौमा मृत्यु भएको थियो । सुत्केरी मात्रै होइन, पञ्चेश्वर गाउँपालिका–३ कुलाउका ३५ वर्षीय देवदत्त भट्ट विषाक्त खानाले बिरामी हुँदा उपचारका लागि बैतडीबाट डडेलधुरा लैजाँदै गर्दा गत माघ २५ गते बाटोमै मृत्यु भयो । बैतडी अस्पतालमा दरबन्दी भए पनि डाक्टर छैनन्, पद रिक्त छ । तीनवटा स्थानीय तह रहेको स्वराड क्षेत्रका करिब एक लाखको जनसङ्ख्यालाई गाउँमै स्वास्थ्य सेवा दिन स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि डाक्टर नहुँदा आफैँ बिरामी जस्तो छ ।

डाक्टर न जिल्लामा छन् न त गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा । उपचार गर्न स्वराडवासीसामु एउटै विकल्प भारतीय सीमा क्षेत्रका अस्पताल मात्र हो । तर भारत जान पनि नदीमा पुल छैन । ज्यान बचाउन ज्यान नै दाउमा राखी महाकाली नदीमा जोखिम मोलेर ट्युबमा तर्दै भारत जानुपर्ने बाध्यता छ । उपचार गर्न भारत जाँदै गरेको अवस्था शिवनाथ गाउँपालिका–२ की मनहरी साउदले दुई वर्षको नानी काखी च्यापेर महाकालीको पानीमा ट्युबमा हेलिए । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्, त्यसैले भारत जान लागेको मनहरीले बाध्यात्मक पीडा सुनाए ।

“आपतकालीन अवस्थामा गर्भवती महिला पनि यसरी नै ट्युब तर्नुपर्छ । भारतीय अस्पताल नपुगुन्जेल जतकाल (सुत्केरी) हुन नसकेर मरिन्छ कि महाकाली तर्दा ट्युब पल्टेर मरिन्छ भन्ने कुरा अस्पताल नपुन्जेल ठेगान हुँदैन,” साउदले भने। फर्किंदा पनि त्यही ट्युब नै सहारा भएकाले घर नपुगुन्जेलसम्म मर्ने बाँच्ने ठेगान नहुने त्रास उहाँले व्यक्त गरेका छन् ।  बैतडीको तल्लो स्वराड क्षेत्रका स्थानीयवासीलाई स्वास्थ्य सेवा दिन खोलिएको मेलैली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २० वर्षमध्ये बितेका १८ वर्ष डाक्टरको अनुहार नै देखिएन । दुई वर्षअघि आएका डाक्टर पनि सरुवा भएर गएपछि स्वराडवासीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot