Logo

ओलीको असन्तुष्टिपछि बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय धरापमा



फागुन १४, काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र उकपछि अर्को गर्दै तरङ्ग सृजना भइरहेको छ । पछिल्ला दिनका तरङ्गमा उपाध्यक्ष बामदेव गौतम प्रत्यक्ष रुपमा जोडिएका छन् । आज पनि त्यस्तै भयो । विहान बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गर्यो ।

तर यो निर्णय चरम विवादमा परेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सहमति विपरित गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको पाइएको छ । केहीबेरअघि मात्रै प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमका विषयमा गरिएको निर्णय औपचारिक जानकारी गराएका थिए ।

तर उक्त सूचना बाहिरिएलगत्तै ओलीले असन्तुष्टि जनाएको सचामार बाहिरिएपछि तरङ्ग सृजना भएको छ । ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएको विभिन्न स्रोतलाई हवाला दिदै दावी गरिएको छ ।

मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ’खेल’ भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएको भनिएको छ । स्रोतलाई उदृत गर्दै सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको बताइएको छ ।

यस विषयमा जानकारी लिने प्रयास गर्दा कोही पनि सम्पर्कमा आएनन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले यसबारे आफूलाई कुनै पनि जानकारी नभएको जवाफ दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot