काठमाडौं, १५ फागुन । चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ । बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ ।
संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ उत्पादन गर्ने कारखाना बन्द भएका छन् । भारतीय औषधि उद्योगले त्यहीँबाट सबभन्दा बढी कच्चा पदार्थ वा ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडिएन्ट’ (एपीआई) आयात गर्छन् । पछिल्लो समय भारतले चीनबाट कच्चा पदार्थ आयात गर्न पाएको छैन । त्यसले नेपालको औषधि उद्योगलाई समेत असर गरेको हो । नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष जी नारायणबहादुर क्षत्रीले बजारमा औषधि अभाव नदेखिए पनि उत्पादकहरूलाई कच्चा पदार्थको समस्या पर्न थालिसकेको बताए । उनका अनुसार भारतबाट ‘अर्डर’ रद्द हुन थालेको छ । औषधिको कच्चा पदार्थका लागि विश्वका अधिकतर मुलुक चीनमा निर्भर छन् । भारत विश्वमा तेस्रो सबभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक हो । भारतमा बर्सेनि करिब ३९ अर्ब डलर बराबरको औषधिको कारोबार हुन्छ । अहिले हुबेईबाट कच्चा पदार्थ निर्यात हुँदैन ।
चीनमा स्थिति नसुध्रिए दुईरतीन महिनामै नेपालमा विभिन्न औषधिको उत्पादन बन्द गर्नुपर्ने वा बढी मूल्य तिरेर युरोपेली मुलुकबाट महँगो मूल्यमा कच्चा पदार्थ ल्याउनुपर्ने अवस्था आउने नेपाली औषधि उत्पादकहरू बताउँछन् । ‘हामीकहाँ स्टक रहेको कच्चा पदार्थले अब २–३ महिना मात्र धान्छ । कोरोना संक्रमणको स्थिति नसुध्रिए नेपाली औषधि उद्योग बन्द हुन्छन्,’ एपोन अध्यक्ष क्षत्रीले भने । औषधि उत्पादकका अनुसार अभाव बढ्दै जाँदा कच्चा पदार्थको मूल्यमा अत्यधिक वृद्घि भएको छ । पारासिटामोलको कच्चा पदार्थको भाउ दोब्बर भएको छ । एजिथ्रोमाइसिनलगायतका एन्टिबायोटिकको मूल्य ७० प्रतिशतसम्म बढेको छ । एपोनका कोषाध्यक्ष प्रभात रुंगटाका अनुसार नेपाल औषधिको ९८ प्रतिशत कच्चा पदार्थका लागि भारतमा निर्भर छ । भारतले भने करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट भित्र्याउँछ । ‘घरेलु औषधिको स्टकमा कमी देखिएपछि भारतीय सरकारले अत्यावश्यक औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ,’ रुंगटाले भने, ‘हामीकहाँ पनि प्रायः सबै औषधिको कच्चा पदार्थको स्टक रित्तिँदै छ । अभावको समस्या नटरे औषधिको मूल्य बढ्न सक्छ ।’ उनले औषधि उद्योगको परनिर्भरता हटाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । औषधि उत्पादक दीपक प्रधानका अनुसार युरोपबाट कच्चा पदार्थ ल्याउनुपर्ने स्थिति आए औषधि धेरै महँगो हुन्छ ।
उत्पादकहरूका अनुसार नेपालको औषधि बजारमा भारतीय उत्पादनले करिब ५२ प्रतिशत, नेपाली उत्पादनले करिब ४५ प्रतिशत र अन्य देशको उत्पादनले ३ प्रतिशत स्थान ओगटेको छ । नेपालमा वर्षमा करिब ३० अर्ब रुपैयाँसम्मको औषधि आयात हुन्छ । यहाँको औषधि उद्योगमा करिब ४० अर्ब रुपैयाँको लगानी छ । नेपालमा करिब ८ सय प्रकारका औषधि उत्पादन हुन्छ । औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् । (कान्तिपुर दैनिकबाट)