काठमाडौँ, १६ फागुन । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रका १० लाइनमा ‘सेस्मिक’ सर्भेको काम सकिएको छ । काम सकिएपछि चिनियाँ प्राविधिक फर्कने तयारीमा छन् ।
सर्भेको तथ्यांक संकलनपछि विश्लेषण र अन्वेषणको प्रतिवेदनका आधारमा बाँकी काम अघि बढाइने खानी तथा भूगर्भ विभागले जनाएको छ । सर्भेको काम दुई सय लाइन किलोमिटरमा सकिएको परियोजना प्रमुख सुधीर रजौरेले बताए । सर्भेको प्रतिवेदन आउन चार महिना लाग्नेछ । ‘रिपोर्टका आधारमा ड्रिलिङको काम अघि बढाइनेछ,’ उनले भने, ‘आगामी वर्षको कात्तिकबाट ड्रिलिङको काम सुरु गर्ने हाम्रो योजना हो ।’ सर्भेले जमिनमुनि कुन क्षेत्रमा पेट्रोलियमको भण्डार छ भनेर पत्ता लगाउन सघाएको छ ।
विभागले कोटिलादेखि पादुका स्थानसम्मको क्षेत्रलाई आधार मानेर झन्डै चार सय वर्गकिलोमिटरमा सर्भे गरेको हो । कात्तिक पहिलो सातादेखि चिनियाँ र विभागका विशेषज्ञको टोलीले अन्वेषण थालेको थियो । अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण क्षेत्रमा १० लाइन ‘सेस्मिक’ सर्भे गरिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले जानकारी दिए । चिनियाँ टोलीले अन्वेषणअन्तर्गत पेट्रोलियम जियोलोजिकल, म्याग्नेट, टेल्युरिक, जिओकेमिकल र स्याम्पलिङ सर्भेको काम गरेको छ । स्थलगत सर्भेको काम सबै तहमा सकिएको परियोजना उनको भनाइ छ ।
प्रतिवेदन प्राप्त भएपछि चार किमि गहिराइसम्म मुख्य ड्रिलिङको काम सुरु हुने त्रिपाठी बताउँछन् । दुल्लु, भैरवी, महाबु र नारायण नगरपालिका क्षेत्रलाई केन्द्रित गरी चामुण्डा–बिन्द्रासैनी, डुगेश्वर, नौमुले र भगवतीमाईका केही भाग समेटेर १० वटा ‘सेस्मिक’ लाइनमा सर्भे गरिएको हो । दुई सय किलोमिटर लाइन सर्भे गर्न चार सय वर्गकिलोमिटर क्षेत्रफल समेटिएको उनले जानकारी दिए । (कान्तिपुर दैनिकबाट)