काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी संकटमा परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय पार्टी सचिवालयले गरेपनि त्यसलाई नमान्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र मान्नैपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुबीचको विवादले उत्पन्न संकट समाधान गर्न केही नेताहरु सक्रिय भएका छन् ।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अहिले मध्यस्थकर्ताका रुपमा खटिएका छन् । उनले पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई भेटेका छन् । ओली र प्रचण्डलाई भेटेर उनले समस्या समाधानको मध्यमार्गी मार्ग खोज्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय सुकुटे पुगेका प्रचण्डसँग नेपालको टेलिफोन कुराकानी बारम्बार भइरहेको बुझिएको छ । उनले प्रधानमन्त्री ओलीसँग पनि सम्पर्क गर्दै कुरा मिलाउन खोजेका छन् ।
नेपाल पार्टीमा उत्पन्न संकट समाधानको सञ्जिवनी बुटी लिएर दौडधूप गरिरहेका छन् । उनको शुक्रबार पनि भेटघाटमा व्यस्तता रह्यो । कुनै हालतमा पार्टीमा द्धन्द्ध बढ्न नदिने गरी निर्णय लिनुपर्ने भन्दै ओलीलाई सम्झाइरहेको बुझिएको छ । नेपालनिकट स्रोतका अनुसार उनी ओलीलाई पछि हट्न सम्झाइरहेका छन् । पार्टीको निर्णय मान्नुपर्ने नेपालको जिकिर रहेको छ । पार्टीको हितका लागि त्याग गर्नुपर्ने र अडान छाड्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
शुक्रबार महासचिव विष्णु पौडेलले उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । उनले ओलीको सन्देश गौतमसम्म पुर्याएका थिए । पौडेलले राष्ट्रियसभा सदस्यमा गौतमकै मनोनयन हुने विश्वास दिलाए । तर, गौतम अझै विश्वस्त हुनसकेका छैनन् । ओलीले गौतमलाई रोक्न खोजेका छन् । यसका पछाडि सांसद मनोनित भएपछि पनि गौतमले संविधान संशोधनको शर्त तेर्साउन सक्ने रहेको छ । प्रचण्डले सुकुटे पुगेर त्यो सर्तबाट गौतम पछि हटेको बताइसकेका छन् ।