काठमाडौं, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ललितपुरको खुमलटार पुगेका छन् । अध्यक्ष दाहालले सिन्धुपाल्चोकबाट आराम गरेर काठमाडौं फर्किनेबित्तिकै नेता नेपाललाई बोलाएका हुन् ।
दाहालसँग भेट्न जानुअघि नेता नेपालले आफ्नो समूहका प्रभावशाली नेताहरुसँग छलफल गरेका थिए । आफ्नो निवासमा भएको छलफलमा युवराज ज्ञवालीको नेतृत्वमा नेता नेपाल समूहका एक दर्जन नेताहरु सहभागी थिए । पार्टीभित्र पछिल्लो समय देखिएको विवादलाई समाधान गर्न मध्यमार्गी भूमिका निर्वाह गरिरहेका नेता नेपाल भने दुवै अध्यक्षसँग खुलेर नलाग्ने स्रोतको दाबी छ । उनले पछिल्लो समय आफ्नो समूहको शक्ति आर्जन गर्नेगरि भूमिका खेलेका छन् ।
तर, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मान्नुपर्ने नेता नेपालको भनाई छ । ओलीले कुनैपनि हालतमा वामदेवको नाम सिफारिश नगर्ने अडान लिएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको हो । नेता नेपालले यो बीचमा थुप्रैपटक अध्यक्षद्धय ओली र दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् ।
उनले विवाद मिलाउन मध्यमार्गी भूमिका खेलेको भनेर बाहिर चर्चा भएपनि भित्री रुपमा भने शक्ति आर्जनको लागि दौडधुप बढाएको नेकपानिकट उच्च स्रोतको दाबी छ । उनी यतिवेला दुवै अध्यक्षको नजरमा शंकाको घेरामा छन् । कतिसम्म भने अध्यक्ष ओलीले पार्टीको आगामी २०७७ सालमा हुने एकता महाधिवेशनमा अध्यक्षको उम्मेद्धवार बनाउनेगरि नेता नेपालसमक्ष प्रस्ताव अघि सारेको समेत बुझिएको छ । तर, नेपालले भने अहिले आफू यसरी सम्झौता गर्ने पक्षमा नभएको भन्दै पार्टी र सरकार दुवै विधिसम्मत ढंगले चल्नुपर्ने भन्नेमा नै केन्द्रित रहेकोमा जोड दिएका छन् । file photo/ in Baluwatar-ReportersNepal