Logo

१८ वर्ष लामो अफगान युद्ध अन्त गर्न अमेरिका र तालिवानबीच शान्ति सम्झौता



एजेन्सी, १७ फागुन । अमेरिका र नेटो सदस्य राष्ट्रहरुले १४ महिनाभित्र अफगानिस्तानबाट सैनिक फिर्ता लानेगरी शान्ति सम्झौता भएको छ । संयुक्त राज्य अमेरिका र तालिवानबीच आज कतारको दोहामा भएको सम्झौतामा तालिवानले अल कायदा र अतिवादी समूहलाई उनीहरुको नियन्त्रित क्षेत्रमा स्थान नदिने भएका छन् ।

सम्झौताका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र तालिवान नेताहरु कतारको दोहा पुगेका थिए । सम्झौतामा अमेरिकी विशेष दूत जल्मे खालिजाद र तालिवानका प्रमुख मुल्ला अब्दुल घाानी बारादारले हस्ताक्षर गरेका छन् । सम्झौता भइरहँदा अमेरिकी रक्षामन्त्री मार्क इस्पर काबुल पुगेर अफगानिस्तानी राष्ट्रपति असरफ घानीसँगै थिए ।

अमेरिकी अधिकारी र तालिवानबीच औपचारिक अनौपचारिक लामो वार्तापछि सम्झौता भएको हो । यसले १८ वर्ष लामो अफगान युद्ध अन्त हुने अवस्था बनेको छ । सन् २००१ मा न्युयोर्कको जुम्ल्याहा भवनमा अल कायदाको हमलापछि अमेरिकी सैनिक अफगानिस्तान छिरेका थिए ।

अफगान युद्धमा लाखौंको ज्यान गइसकेको छ । २४ हजार अमेरिकी सैनिक मारिएको तथ्यांक छ । अझैपनि अफगानिस्तानमा १२ हजार सैनिक छन् ।



प्रतिक्रिया दिनुहोस्