Logo

नयाँ राजदूत विनयमोहनलाई चुनौति र अवसर



फागुन १८, काठमाण्डौ । नेपाल र भारतबीचको सम्बन्ध कुन बेला अत्यन्तै घनिष्ठता र कुन बेला दरार हुन्छ ठेगान हुँदैन । सबैभन्दा नजिकको मात्रै होइन, भारत नेपालको व्यवहारिक, सांस्कृति र सामाजिक परिवेशका हिसाबले पनि निकट मानिन्छ । त्यसैले नेपालका लागि भारतका राजदूतको भूमिकाको पाइला पाइलामा परीक्षा हुने गर्दछ । भारतले मञ्जीव सिंह पुरीको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेर विनयमोहन क्वात्रालाई नेपाल पठाएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्रा आइतबार बिहान दिल्लीबाट काठमाडौं आइसकेका हुन् । क्वात्रा नेपालका लागि राजदुत भएर आएसंगै अब दुई देशको सम्वन्ध मजबुत बनाउन ठुलो भुमिका खेल्ने विश्वास धेरैले गरेका छन् । पछिल्लो समय नेपाल र भारतबीच सिमा र जमिनको विषयले सम्बन्ध सुमधुर हुन नसकेको धरैको टिप्पणी छ । यही बेला राजदूत फेरिएका छन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि उतै राखिएको विषयले विवाद भयो ।

यो विवाद समाधान नहुँदै क्वात्रा राजदूत भएर आएका छन् । त्यसो त नयाँ नक्सा विवाद राजदूत तहबाट समाधान हुन सक्दैन । दुई देशका प्रधानमन्त्रीस्तरीय वार्ताकै आवश्यकता औँल्याइरहेका बेला राजदुत फेरिदैमा समस्या समाधान हुने अपेक्षा गर्न सकिदैन । तर समन्वयकारी भूमिका खेलेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच वार्ता गराउनमा राजदुतको भूमिका हुन सक्ने परराष्ट्रविद् डा. लोकराज बराल बताउँछन् । तर राजदूत निर्णायक भूमिकामा भने नरहने बलारको तर्क छ ।

अन्य विषयमा भने राजदूतकै भुमिका महत्वपूर्ण हुने बरालको तर्क छ । राजदूत क्वात्रा एक व्यक्ति नभै भारतकै एक अंग भएकाले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनमा महत्वपूर्ण भूमिका अनिवार्य नै हो । यतिबेलाको अवस्था हेर्दा दुई देशबीचको सम्बन्ध सहज अवस्थामा छैन ।

सन् २०१७ अगस्टदेखि फ्रान्सका लागि भारतीय राजदूतका रूपमा रहेका क्वात्रा पश्चिमी देशहरुमा काम गरिसकेको अनुभव लिएर नेपाल आएका छन् । विगतमा प्रायः तेस्रो देशमा काम गरेका कूटनीतिज्ञहरुलाई नेपाल पठाउने गरिएकोमा पछिल्ला दिनमा भारतले अमेरिका, युरोप र संयुक्त राष्ट्र संघमा काम गरिसकेका कूटनीतिज्ञहरुलाई नेपाल पठाउन थालेको छ । जसअनुरुप विनयमोहन क्वात्रालाई नेपालको राजदूत बनाइएको हो ।



प्रतिक्रिया दिनुहोस्