Logo

राजदूत क्वात्राको कार्यकालमा नेपाल-भारत सम्बन्धको सम्भावना र चुनौती



ऋषि धमलाः तीन दशक लामो कुटनीतिक क्षेत्रको अनुभव सँगालेका विनय मोहन क्वात्राको नेपाल आगमन चासोको विषय बनेको छ । नेपालसँग अति निकट सम्बन्ध रहेको छिमेकी भारतले नेपालका लागि राजदूतका रुपमा पठाउने निर्णय गरिसकेकाले क्वात्रा चासोमा परेका हुन् । त्यसमाथि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका कुटनीतिज्ञ हुन् । उनको कार्यकालमा नेपालसँग भारतको कस्तो सम्बन्ध रहने हो ? उनको स्वभाव कस्तो छ ? नेपाल मामलामा उनले कस्तो कुटनीतिक क्षमता प्रदर्शन गर्ने हुन् ? यी विषयमा सामान्य नेपाली देखि बौद्धिक जगतमा समेत कौतुहलता जागेको छ ।

को हुन् क्वात्रा
भारत सरकारले नेपालका लागि राजदूतका रुपमा चयन गर्नुअघि विनय मोहन क्वात्रा फ्रान्सका लागि भारतीय राजदूत थिए । उनी ३२ वर्ष भारतको विदेश सेवामा रहिसकेका छन् । सन् १९८८ को भारतीय विदेश सेवा आइएफएस ब्याचका अफिसर हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । उनलाई पछि प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो । कुसल कार्यक्षमताका कारण विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । उनको काम गर्ने शैलीबाट मोदी प्रभावित भएर निजी सचिव बनाउन खोजेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए ।

विज्ञानका विद्यार्थी क्वात्रा तीक्ष्ण बुद्धिका थिए । विज्ञानमा स्नातकोत्तर गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आइएफएस बनेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी नभएपनि उनी विदेश मन्त्रालयको अधिकृत बने । तर, उक्त विषयको औपचारिक अनौपचारिक अध्ययन छाडेनन् । जेनेभामा पोष्टिङ्ग हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए । बौद्धिक व्यक्तित्व क्वात्राले आफ्नो अध्ययनको विषयभन्दा भिन्न क्षेत्रमा प्रवेश गरेर पनि कार्यक्षमता देखाए ।

क्वात्रासँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । क्वात्राले विदेश मन्त्रालयमा रहँदा संयुक्तराष्ट्रसंघ सम्बन्धि डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्को दश वर्ष राष्ट्रसंघसम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा समेत काउन्सलरका रुपमा काम गरे । उनी पछि डिसिएम समेत भएका थिए । यूरोपमा मात्र नभई उनी चीनमा समेत रहेर काम गरे । चीन मामलाका समेत जानकार हुन् क्वात्रा । उनी दक्षिण अफ्रिका र उज्वेकस्तिानमा पनि कुटनीतिज्ञका रुपमा काम गरिसकेका छन् ।

क्वात्रा नेपालबारे समेत जानकार छन् । उनी सन् २००६ देखि २०१० सम्म उनको पोष्टिङ काठमाडौंस्थित सार्क सचिवालयमा थियो । जहाँ उनी व्यापार ब्युरोको प्रमुख भएर काम गरे । नेपाललाई त्यतिबेला क्वात्राले नजिकबाट बुझ्ने मौका पाएका थिए । सार्क सचिवालयमा कुशलतापूर्वक काम गरेपछि उनको पोष्टिङ अमेरिकामा भयो । सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रुपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । क्वात्राले दुई वर्ष भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा जिम्मेवारी सम्हालेपछि फ्रान्सका लागि राजदूत भएका थिए । उनको कार्यकालमा भारतको फ्रान्ससँगको सम्बन्ध नयाँ उचाईमा पुग्यो । आर्थिक सम्बन्ध अझ मजबुत भयो ।

नेपालमा क्वात्राको भूमिका
क्वात्रा नेपालमा राजदूतका रुपमा आउँदै गर्दा नेपाल र भारतको सम्बन्ध झन् समुधुर बन्दै गएको छ । दुई देशबीच यदाकदा केही समस्या आउने गरेपनि समाधान हुँदै गएका छन् । तर, भावनात्मक सम्बन्ध कायमै छ । भारतको छिमेक प्रथम नीति अनुसार मोदी युगमा कनेक्टिभिटीको विकास भइरहेको छ । दुई देशलाई यातायात सञ्जालले जोड्ने मोदीको गुरुयोजना कार्यान्वयन हुँदै गएका छन् । रेलसेवाबाट दुई देशलाई जोड्ने पूर्वाधार विकासका योजनाहरु प्रभावकारी ढंगले अगाडि बढिरहेका छन् । ग्याँस पाइपलाइन निर्माण पूरा भई सञ्चालनमा आएको छ । वीरगञ्ज र विराटनगर गरी दुई स्थानमा संयुक्त चेकपोष्ट निर्माण पूरा भई कार्यान्वयनमा छ भने अन्य स्थानयमा पनि निर्माण भइरहेको छ ।

भारतीय लगानी बढिरहेको छ । मोदी युगमा दशकौं देखि अड्किएका जलविद्युत आयोजनाहरुको कामले गति लिएको छ । नौ सय मेगावाटको अरुण तेस्रो आयोजना धमाधम निर्माण भइरहेको छ । नेपाल र भारत दुवै देशका बैंकहरुले आयोजनामा सहुलियतमा ऋण दिएर लगानी सुनिश्चित गरिसकेका छन् । माथिल्लो कर्णाली आयोजना निर्माणको पहल अगाडि बढ्दैछ । यसबाहेक रोकिएका विभिन्न विकासका परियोजनाहरु अगाडि बढेका छन् । नयाँ आयोजनाहरु अगाडि बढाउने पहल भइरहेको छ । भर्खरै सेवानिवृत्त भएका पूर्व राजदूत मञ्जिव सिंह पुरीले कुटनीतिक कुशलता देखाएर नेपालसँगको सम्बन्धलाई नयाँ उचाईमा पु¥याए । दुई देशबीच आर्थिक सम्बन्ध प्रगाढ र विस्तार गर्नेतर्फ महत्वपूर्ण उपलब्धिहरु भए । यसमा भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारको भूमिका प्रशंसनीय रह्यो । उनले सिंहलाई सफल राजदूत बनाउन अहोरात्र खटिएर भूमिका निभाए ।

विगतमा भन्दा नेपाल भारत सम्बन्धका मार्ग अझ फराकिलो र सहज बनेको छ । तर, सम्बन्धलाई एक्काइसौं शताब्दीको आवश्यकता र दुवै देशको जनताको भावना अनुसार अगाडि बढाउनुपर्ने अवस्था छ । नेपालसँग अपार प्राकृतिक स्रोत छ । भारतसँग साधन र प्रविधि छ । दुवैको सामञ्जस्यता भयो भने यो क्षेत्रकै कायापलट हुन्छ । नेपालको जलविद्युत स्रोतको उचित सदुपयोगले नेपाल मात्र नभई भारतको कतिपय भाग नै झिलीमिली हुनसक्छ । यसका लागि दुवै पक्ष बसेर मनमुटु माझेर छलफल हुन जरुरी छ । क्वात्राले यसतर्फ कुटनीतिक कुशलता देखाउन सक्छन् ।

नेपालमा पर्यटनको अपार सम्भावना छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, स्वर्गद्धारीलगायतका स्थान एक अर्ब भारतीयका पवित्र तीर्थस्थल हुन् । उनीहरु नेपाल नआई जीवन सार्थक भएको ठान्दैनन् । तर, पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार विकास नहुँदा नेपालले जति लाभ लिनुपर्ने हो लिन सकिरहेको छैन । यसका लागि पनि लगानी अपरिहार्य छ । पर्यटन व्यवसायमा भारतको लगानी र पूर्वाधार विकासमा भारतको सहयोग आवश्यक छ । क्वात्राको कार्यकालमा यसतर्फ उपलब्धि हासिल हुनसक्ने आशा गरिएको छ ।

भारतसँग नेपालको सीमा र विगतको सम्झौता कार्यान्वयनका केही समस्याहरु छन् । जसका कारण दुई देशबीच बेला बेलामा केही अविश्वासको वातावरण बन्ने गरेको छ । यसको दीर्घकालिन समाधानका लागि कुटनीतिक तथा राजनीतिक पहलको आवश्यकता छ । यी समस्याको बेलैमा हल नहुँदा दुई देशबीचको सम्बन्ध बिगार्न खोज्नेहरु बेला बेलामा सलबलाउने गर्दै आएका छन् । भ्रमहरु फैलाउने गरेका छन् । अविश्वास पैदा गर्न खोज्छन् । यसको कुटनीतिक समाधान खोजिनुपर्ने दुवै देशको धारणा रहेपनि कार्यान्वयनमा जान सकिरहेको छैन । क्वात्राको कार्यकालमा यसतर्फ काम अगाडि बढ्नसक्ने सम्भावना रहन्छ ।

महाकाली सन्धी अन्र्र्र्तगतको पञ्चेश्वर परियोजना अगाडि बढ्न सकेको छैन । यसमा सहमति बन्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई अगाडि बढाउन चाहेको देखिन्छ । तर, दुवै देशबीच सहमति निस्कन सकेको छैन । गरे नहुने छैन भन्ने अरुण तेस्रो आयोजना निर्माण र माथिल्लो कर्णाली सम्झौताले देखाइसकेको छ । पञ्चेश्वरको काम पनि चाँडै अगाड बढाउनेतर्फ कुटनीतिक कुशलता क्वात्राबाट देखिने आशा गरिएको छ । यसबाहेक कतिपय जलविद्युत आयोजनामा भारतीय लगानीको वातावरण बनाउन क्वात्राको भूमिका महत्वपूर्ण हुनसक्छ ।

नेपालमा उद्दोग व्यवसायका क्षेत्रमा लगानी बढाएर भारतले लाभ लिन सक्छ । यसले नेपालको स्रोतको उचित सदुपयोग भई रोजगारी बढीभन्दा बढी सृजना हुन्छ । यसले नेपाल र भारत दुवैलाई लाभ पुग्छ । लाखौं रोजगारी सृजना हुने समाग्री उत्पादन गर्न नेपालसँग कच्चा पद्धार्थ पर्याप्त छ । यसमा भारतले आर्थिक र प्राविधिक लगानी गर्न सक्छ । भारतीय उद्दोगीलाई लगानीका लागि नेपालमा आकर्षित गराउनेतर्फ भारतीय पक्षले पनि भूमिका खेल्न सक्छ । यसबाट भारतले चाहेको जस्तै नेपालको आर्थिक समृद्धि हासिल हुनसक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फ्रेन्समा समृद्ध नेपाल निर्माणमा आफ्नो सधै सहयोग र साथ रहने बताएका छन् । उनले विश्वास गरेका राजदूत क्वात्राले नेपालको समृद्धिको यात्रामा महत्वपूर्ण भूमिका निभाउन सक्छन् । यसबाट नेपाल र भारतको ऐतिहासिक सम्बन्धले अझ उचाई हासिल गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot