Logo

सूचना प्रविधिको ट्रयापमा प्रहरी



काठमाडौं, २० फागुन । यदि सामाजिक सञ्जालको जमाना थिएन भने गत बिहीबार ललितपुरमा प्रहरीले महिला कुटेको घटना बाहिर आउने थिएन । बच्चा बोकेकी महिलालाई इन्सपेक्टरले निर्घात कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी घटनाको अनुसन्धान गर्न बाध्य भयो । कुटपिट गर्ने इन्सपेक्टर देवी पौडेललाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ ।

पछिल्लो समय प्रहरीबाट भएका यस्ता घटनाका कारण सिंगो संगठनको आलोचना भइरहेको छ । प्रहरी दुव्र्यवहारका घटना बढेरभन्दा पनि, प्रहरीका साना गल्तीहरुले गर्दा सिंगो संगठनको बदनाम गरेको छ । सूचना प्रविधि तथा सामाजिक सञ्जालका कारण यसरी प्रहरीको बदनामी बढेको हो । हरेक नागरिकको हातमा मोबाइल भएकाले प्रहरीको सानो गल्तीलाई फोटो खिचेर सामाजिक सञ्जालमार्फत केही घन्टामा सयौंकोमा पुग्ने गरेको छ । प्रहरीको व्यवहार अब हरेक नागरिकको मोबाइलबाट निगरानी हुने गरेको छ । जसकारण प्रहरी फिल्डमै अझै संयमित हुनु अत्याबश्यक देखिएको छ ।

प्रहरी सधैं रुखो ?

पछिल्लो पटक गायिका आस्था राउत प्रकरणमा प्रहरी विवादमा मुछियो । विमानस्थलमा चेकिङको क्रममा उनको महिला प्रहरीसँग विवाद भएको थियो । महिला प्रहरीले आफूलाई रुखो बोलेको भन्दै विवाद भयो । त्यही विवादलाई लिएर प्रहरीले गायिका राउतमाथि मुद्दा चलायो । यो प्रकरणमा कतिपयले प्रहरी सही भएको बताए । कतिपयले गायिकामाथि अन्याय भएको बताए । यो घटनाले पनि प्रहरीको व्यवहारमाथि प्रश्न उठायो ।

त्यसअघि साग खेलमा प्रहरीका डिएसपीले पत्रकारमाथि लाती र लौरोले प्रहार गरे । टिकटका विषयमा विवाद भएपछि भिडियो खिचिरहेका पत्रकारलाई डिएसपी सन्तोषसिंह राठौर र रुगम कुँवरले बल प्रयोग गरेका थिए । उनीहरुविरुद्ध प्रहरी नेतृत्वले कारबाही गरेन ।

खासगरी भीड नियन्त्रणको क्रममा प्रहरीले चर्काे बल प्रयोग गर्ने गर्दछ । यसमा तालिमको अभावदेखि भिड नियन्त्रणका सामानको अभावसमेत हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ठूला व्यक्तिको चाकडी गर्ने तर सर्वसाधरणलाई दुःख पर्दा पनि सहयोग नगर्ने प्रहरीको प्रवृत्ति छ । यही कारण प्रहरीप्रति सर्वसाधरणको राम्रो छाप छैन ।

प्रहरीभित्रै छैन सम्मान

करिब पाँच वर्षअघि तत्कालिन गृहमन्त्री वामदेव गौतमले हाकिमहरुले सिपाहीलाई तपाई भनेर बोलाउनुपर्ने धारणा राखे । प्रहरीले प्रहरीलाई राम्रो व्यवहार गरे मात्र प्रहरीले जनतालाई राम्रो व्यवहार गर्ने उनको भनाई थियो ।

तर, प्रहरीमा यस्तो हुन सकेको छैन । प्रहरीको तल्लो तहका प्रहरीलाई हाकिमले तँ भनेर हेप्ने र गाली गर्दछन् । कामप्रति उत्साहित गर्ने वातावरण छैन । त्यसैले पनि प्रहरीको व्यवहारमा सुधार आउन सकेको छैन ।

अर्काेतर्फ लामो डिउटी पनि अर्काे कारण हो । उपत्यकामा नियमित १५ घन्टासम्म प्रहरीहरु डिउटीमा खटिन्छन् । सेवा सुविधाले परिवार पाल्न नपुग्ने तर १५ घन्टासम्म डिउटी गर्नुपर्ने अवस्थाले स्वभाविक रुपमा उच्च स्तरको पुलिसिङको अपेक्षा गर्न सकिदैन ।

प्रहरी अधिकारीहरु बेला–बेलामा प्रहरी समाजकै अंग भएकाले जस्तो समाज त प्रहरीको व्यवहार पनि त्यस्तै हुने बताउँछन् । तर, यो बहाना बनाएर आफ्ना कमजोरी लुकाउने सक्ने अवस्था छैन । प्रहरी समाजमा नमुना बन्न सक्छ । प्रहरीले राम्रो व्यवहार गरेमा त्यसको प्रभावमा नागरिकको आचरण पनि फेरिने हो । यदी ट्राफिक चेकिङमा कुनै प्रहरीले मिठो बोलेमा चालक पनि मिठो बोल्न बाध्य हुन्छ ।

नागरिकसँग दिनहुँ प्रत्यक्ष डिल गर्ने भनेका तल्लो तहका प्रहरी हुन् । प्रहरी समाजमा उदारणीय बन्न चाहन्छ भने तल्लो तहका प्रहरीलाई बिशेष तालिम तथा सेवा सुविधामा लाग्नुपर्छ । यसका लागि प्रहरीले बिशेष अभियान नै सुरु गर्नुपर्छ । ‘प्रहरी मेरो साथी’ भनेर नारा लगाउँदैमा जनताले विश्वास गर्ने कुरा आउँदैन ।

हुन त नागरिकसँगको सम्बन्ध सुधारमा प्रहरीले विभिन्न आकर्षक नाराहरु लिएर विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । तर, त्यसको उपलब्धिमुलक नतिजा देखिएको छैन । अब भर्नादेखि नै यसमा बिशेष ध्यान दिनु जरुरी छ ।

अख्तियारको हिरासतमा प्रहरी

प्रहरीभित्र भ्रष्टाचारका घटना पनि रोकिएका छैनन् । पछिल्लो पट सुन र हुन्डी काण्ड बाहिर आएको छ । अख्तियारले २० जनाभन्दा धेरै प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुन लुट्ने, हुन्डी कारोबारीसँग १० लाख लिने तथा चेकिङका क्रममा घुस लिने प्रहरीहरु यतिबेला आयोगको हिरासतमा छन् ।

सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ प्रहरीमाथि यतिबेला छानबिन भइरहेको छ । अख्तियारकै पत्रअनुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । इन्स्पेक्टर नेपालसहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई अख्तियारले हिरासतमा लिएको छ ।

प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठको पनि यसमा मिलेमतो भएकाले पक्राउ परेका हुन् । उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको थियो । अख्तियारको पत्रअनुसार प्रहरीले उनीहरूलाई बुझाएको हो ।

गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा प्रहरीले ना६ख ४९३२ नम्बरको कन्टेनरबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । गाडीका चालकले नै यस सम्बन्धमा माथिल्लो निकायमा सूचना दिएपछि घटना बाहिर आएको हो ।

सुरुमा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको समितिले छानबिन गरेको थियो । सोही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान अघि बढाएको हो । बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् ।

त्यस्तै हुन्डी कारोबारीलाई २० लाख रुपैयाँसहित पक्राउ गरेर १० लाख लिई छाडिदिने पर्साका तीन प्रहरी पनि यतिबेला छानबिनमा छन् ।

इनर्वा चौकीका असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी र जवान राजकुमार गुरुङ पक्राउ परेका हुन् । उनीहरुले एक भारतीयलाई अवैध २० लाख रुपैयाँसहित पक्राउ गरेकोमा माथिल्लो निकायमा जानकारी नदिई बाँडीचुँडी लिएका थिए । एक प्रहरी जवानले नै उजुरी गरेपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरु पर्साका तत्कालिन एसपी सोमेन्द्रसिंह राठौरका घुुमवा भएको स्रोत बताउँछ ।

पछिल्लो समय घुससहित प्रहरी पक्राउ गर्ने क्रम पनि बढेको छ । खासगरी तराईका जिल्लाहरुमा सेटिङमा तस्करीको धन्दामा प्रहरीहरु सक्रिय छन् । हाकिमहरुले नै घुुमुवाका रुपमा खटाएर यसरी पैसा उठाउने गरेका छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot