बाँके, फागुन २३ । नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ ९एसएसएल० सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ ।
प्रदेशअन्तर्गतका केही मन्त्रालयको वेब साइटमा सेक्युरिटी लक छ । बाँके र बर्दियामा रहेका अधिकांश सरकारी, गैरसरकारी तथा ठूला औद्योगिक प्रतिष्ठानका वेब पोर्टलमा अहिले पनि सेक्युरिटी लक छैनन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सञ्चालनमा रहेका वेब पोर्टल सुरक्षित बनाउन र नियमति अपडेट गर्नेतर्फ कार्यालय प्रमुखहरुले बेवास्ता गर्दै आएका छन् ।
सङ्घ र प्रदेश सरकार मातहतका सरकारी तथा अर्धसरकारी निकायमा लाखौँ रकम खर्चेर बनाइएका वेबसाइट कार्यालय प्रमुखकै बेवास्ताका कारण अद्यावधिक समेत हुँदैनन् । अधिकांश स्थानीय सरकारका वेब साइटमा एसएसएल सर्टिफिकेट प्रयोग गरी सेक्युरिटी लक राखिएको छैन । सङ्घीय सरकार र प्रदेश सरकारका वेब पोर्टल र स्थानीय तहका वेबसाइट खोल्दा माथिल्लो दायाँ कुना ९डोमाइन०मा अङ्ग्रेजीमा ‘नट सेक्युवर’ लेखेको देख्न सकिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाकै वेब पोर्टल सुरक्षाका लागि लक राखिएको देखिँदैन । सरकारी कार्यालयको केन्द्रबाटै अनुगमन हुने हुँदा जिल्ला तहमा यसको सुरक्षाका लागि केही नगरिएको उपमहानगरपालिकाका कम्प्युटर इञ्जिनीयर घनश्याम बर्माले जानकारी दिए । उनले भने,“उपमहानगरको वेब पोर्टल हरेक दिनजसो अपडेट पनि हुन्छ । दैनिकजसो समस्या आइरहन्छ ।”
बाँकेका अधिकाशं सरकारी कार्यालयका डोमेन मात्र होइन पदाधिकारी र कार्यालय प्रमुखको नामसमेत सच्चाइएको छैन । तत्कालीन अवस्थामा जिल्ला विकास समिति रहेको जिल्ला समन्वय समितिको वेबसाइटमा अहिले पनि कार्यालय प्रमुखको नाम ‘हरि प्याकुरेल’ नै राखिएको छ । तर, उहाँ विगत लामो समयदेखि नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।रासस